खरसाङ, 27 जुलाई (हि.स.)। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो प्राणको आहुति दिने वीर शहीदहरूलाई शद्धाञ्जली अर्पण गर्न दार्जिलिङका विधायक निरज जिम्बा आज खरसाङको लङ्भ्यूस्थित शहीद वेदीमा पुगे। गोरामुमोको आयोजनामा सम्पन्न एक श्रद्धाञ्जली कार्यक्रममा पार्टीको खरसाङ ब्राञ्च अध्यक्ष निमा लामा, नरेश गुरूङ, युद्ध छेत्री लगायत नारी सङ्गठन, युवा सङ्गठन आदिका प्रतिनिधि अनि सदस्य तथा पार्टी समर्थकहरू उपस्थित थिए।
विधायक जिम्बाले सर्वप्रथम यहाँको शहीद वेदीमा धूप-दीप प्रज्वलन गरे औ माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विधायक जिम्बाले अवश्य नै शहीदहरूको त्याग र बलिदानको मूल्याङ्कन हुने विश्वास व्यक्त गरे। तिनले आजको दिन जाति र माटोको निम्ति आफ्नो प्राणको आहुति दिने ती वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने पवित्र दिन रहेको जनाउँदै लङ्भ्यूको यस स्थान पनि अतिनै पवित्र स्थान रहेको बताए, जहाँ दुईजना वीरहरूले आफ्नो अमूल्य जीवनको योगदान दिएका थिए।
विधायक जिम्बाले यहाँका एक शहीद निमा थिङकी पत्नीलाई आफ्नो व्यक्तिगत पक्षबाट घर बनाउन एक लाख प्रदान गरे भने आफ्नो शरीर रहेसम्म मासिक तीन हजार रूपियाँ पेन्सनको रूपमा दिने घोषणा गर्दै पन्ध्र हजार रुपियाँ प्रदान गरे। श्रीमति थिङले सोह्र वर्षसम्म दागोपापमा कार्य गरेको भए तापनि उनलाई केही वर्ष अघि कामबाट निकालिएको र आजसम्म केही नपाएको बताइएको छ। विधायकले श्रीमति थिङलाई शाल ओडाएर, खदा लगाएर अनि उपहारहरू दिएर सम्मान पनि जनाए।
श्रीमती थिङले पनि आजसम्म उनको अवस्थाप्रति कसैले ध्यान नदिएको जनाउँदै यसरी विधायक जिम्बाले उनको अवस्था बुझेर सहयोग प्रदान गरेकोमा उनीप्रति आभार व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / हनोक