सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा
सातौं सारथी सम्मान दिवस पालन गरियो


गान्तोक, 27 जुलाई (हि.स.)। राजधानीको मनन केन्द्रमा आज सातौं सारथी सम्मान दिवस मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा सम्पन्न गरियो। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णा कुमारी राई, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा र उपाध्याक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, अध्यक्षगण, ओएसडी तथा राज्यका 6 वटै जिल्लाबाट आएका चालक प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सारथी सम्मान दिवसको सबै सारथीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। उनले 2019 मा एसकेएम सरकार गठनमा चालक सारथीहरूको ठूलो योगदान, सहयोग र आशीर्वाद रहेको बताए। एसकेएम सरकारमा आउनसाथ सारथीहरूको निम्ति एउटा छुट्टै कार्यक्रम हुनुपर्छ भनेर 27 जुलाईलाई सारथी सम्मान दिवसको रूपमा पालन गर्न थालिएको उनले अवगत गराए।

मुख्यमन्त्रीले यदि चालक सारथीहरू नभए राज्यको कामकाज सबै ठप्प हुनेछ भन्दै सरकारको पक्षबाट सम्मान जनाउन आफु मनभित्रैबाट कार्यक्रममा उपस्थित बनेको अवगत गराए। उनले राज्य र देशको विकासमा चालक सारथीहरूको ठूलो भुमिका र योगदान रहेको बताउँदै कार्यक्रममा अधिकारीहरूको न्युन उपस्थितिप्रति दु:ख व्यक्त गरे।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा 2019 भन्दा अघि र आजको स्थितिको मुल्याङकन गर्न आह्वान गर्दै चालकहरूले सारथी आईडल जस्ता कार्यक्रमहरूमा पनि प्रतिभा प्रस्तुत गरेर आफ्नो प्रतिभाको परिचय दिएको उल्लेख गरे। उनले 21औं शताब्दीमा जाँगर र सीप हुनेहरू कसैले पनि दु:ख पाउने छैन भन्दै चालकहरूको सीपको सराहना गरे।

उनले चालक कल्याण बोर्ड मार्फत चालकका परिवारलाई विभिन्न सहुलियतहरू उपलब्ध गराउँदै आइरहेको जानकारी गराए। चालकका छोराछोरीहरूले आज उच्च पदहरूमा नियुक्ति पाएको उल्लेख गर्दै चालक कल्याण बोर्डको निम्ति हरेक वर्ष एक करोड रुपियाँ धनराशि आवण्टन गरिएको जानकारी गराए। मुख्यमन्त्रीले चालकहरूका निम्ति तीनसय वटा घरहरू निर्माण गर्ने कार्य चॉंडै शुरू गरिने घोषणा गरे।

उनले वाहन पार्किङको समस्याको उल्लेख गर्दै गान्तोकको वेस्ट पोइन्ट मलमा पश्चिम र दक्षिण सिक्किमको ट्याक्सी स्ट्याण्ड पुन: शुरू गरिने जानकारी गराए। उनले राज्यका सबै जिल्लाहरूमा पार्किङ पूर्वाधारहरू निर्माण भइरहेको पनि अवगत गराए। उनले चालकहरूका परिवारहरूलाई मेडिकल बीमा सुविधा उपलब्ध गराइने बताउँदै अब उसो एआई चेकिङबाट चालकहरूले कुनै समस्याहरू भोग्नु नपर्ने पनि भरोसा दिलाए।

मुख्यमन्त्रीले अब उसो प्रत्येक वर्ष 10 अगस्तको दिन आमा सम्मान दिवस पालन गरिने घोषणा गरे, जसमा 32 हजार आमाहरूलाई पहिलो किस्ताको रूपमा 20- 20 हजार रुपियाँ सहयोग स्वरूप प्रदान गरिने छ।

कार्यक्रमलाई विधायक तथा चालक मोर्चाका उपाध्याक्ष प्रभारी सञ्जित खरेल र यातायात विभागका सल्लाहकार तथा विधायक मदन सिन्चुरीले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा उत्कृष्ट सारथी पुरस्कारद्वारा 6 वटै जिल्लाबाट दुई—दुई जना गरी कुल 12 जना चालकलाई एक—एक वटा वाहन प्रदान गरी सम्मानित गरियो। यसैगरी, सडक दुर्घटनाका पीडित चालक परिवारलाई पनि पाँच लाख रुपियाँको अनुग्रह राशि प्रदान गरियो।

कार्यक्रममा मुख्यमन्त्रीलाई यातायात विभाग, राज्य चालक प्रकोष्ठ र सारथी कल्याण बोर्डद्वारा अभिनन्दन जनाइएको थियो। यसैगरी चार सयभन्दा अधिक लाभार्थीहरूलाई मुख्यमन्त्री विवेकाधीन कोष मार्फत सहयोग राशिको चेक हस्तान्तरण गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande