- मुख्यमन्त्रीले डा. मुखर्जीका सिद्धान्तहरू अनुशरण गर्न र राष्ट्रको कल्याणको लागि काम गर्न आग्रह गरे
गान्तोक, 06 जुलाई (हि.स.)। राजधानीको चिन्तन भवनमा आज डा श्यामा प्रसाद मुखर्जीको 125औं जयन्तीको अवसरमा राज्यस्तरीय कार्यक्रम आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा देशको राजनीति र सांस्कृतिक दिशालाई आकार दिन डा. मुखर्जीको भूमिकामाथि प्रकाश पारे। डा मुखर्जीले आफ्ना पिता आशुतोष मुखर्जीका सिद्धान्त र मार्ग पछ्याएको जानकारी गराउॅंदै उनका पिता एक सम्मानित जज एवं शिक्षाविद थिए भनी उनले अवगत गराए।
डा मुखर्जीले कलकत्ता विश्वविद्यालयबाट कानूनको डिग्री पूरा गरेपछि इङ्गल्याण्ड गएर लिंकन्स इनबाट ब्यारिस्टर बनेको उनले बताए। उनले डा मुखर्जी केवल 33 वर्षको उमेरमा कलकत्ता विश्वविद्यालयको उपकुलपति बनेको बताए, जहॉं उनले सिकाइ र राष्ट्रिय मूल्यमान्यतालाई प्रवर्द्धन गरे।
मुख्यमन्त्रीले डा. मुखर्जीले आत्मनिर्भरता, भारतीय ज्ञान प्रणालीको प्रवर्द्धन र स्थानीय उद्योगहरूको विकासका लागि काम गरेको बताए। उनले डा. मुखर्जीलाई आत्मनिर्भरताको पक्षमा उभिएका, भारतको सांस्कृतिक जरामा गर्व गर्ने र स्थानीय उद्योगहरूलाई सुदृढ पार्ने कुरामा विश्वास गर्ने एक बुद्धिमान व्यक्ति थिए भनी बताए।
उनले सबैलाई डा. मुखर्जीका सिद्धान्तहरू अनुशरण गर्न र राष्ट्रको कल्याणको लागि काम गर्न आग्रह गरे। उनले एक भारत, श्रेष्ठ भारतको दृष्टिकोणलाई प्रवर्द्धन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद दिए।
यसरी नै मुख्यमन्त्री तामाङले परम पावन 14औं दलाई लामालाई सिक्किमका जनताको तर्फबाट जन्मदिवसको हार्दिक बधाई दिए। उनले परम पावनको सुस्वास्थ्य र दीर्घायुको लागि शुभकामना र प्रार्थना गर्दै उनका शान्ति, करुणा र सद्भावको सन्देशप्रति कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा सिक्किम विश्वविद्यालयको इतिहास विभागका पूर्व प्रमुख डा. वीनू पन्तले डा श्यामा प्रसाद मुखर्जीको जीवन र योगदानमाथि वार्ता प्रस्तुत गरेकी थिइन्।
कार्यक्रमको क्रममा मुख्यमन्त्री चिन्तन भवन परिसरमा गृह विभागका चालकहरूको प्रतीक्षालय उद्घाटन गरे। यस सुविधाको उद्देश्य चिन्तन भवनमा आयोजित कार्यक्रमहरूमा उपस्थित विशिष्ट व्यक्तिहरू, अधिकारीहरू र अतिथिहरूसँग जाने चालकहरूलाई विश्राम गर्ने ठाउँ प्रदान गर्नु हो। मुख्यमन्त्रीले भने, यो पहलले चालकहरूसहित सबै काम गर्ने व्यक्तिहरूको लागि आधारभूत सुविधा सुनिश्चित गर्ने सरकारको प्रयासलाई प्रतिबिम्बित गर्दछ।
कार्यक्रममा विधानसभा उपाध्यक्ष राजकुमारी थापा, लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका सल्लाहकारहरू र राजनीतिक सचिवहरू, गान्तोकका जिल्ला अध्यक्ष र उपाध्यक्ष, गान्तोकका मेयर र उपमेयर, सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल