- फोटो पत्रकार वाङ्गछेन लामालाई लगनशील युवा पत्रकार पुरस्कार 2025
गान्तोक, 06 जुलाई (हि.स.)। वरिष्ठ पत्रकार कर्म पाल्जोरलाई 'कञ्चनजङ्घा कलम पुरस्कार 2025' ले सम्मानित गरिने भएको छ। यसैगरी, फोटो पत्रकार वाङ्गछेन लामालाई लगनशील युवा पत्रकार पुरस्कार 2025 ले सम्मानित गरिने भएको छ। प्रेस क्लब अफ् सिक्किम (पीसीएस) ले आगामी 17 जुलाईका दिन पालन गर्ने आफ्नो 23औं स्थापना दिवसको अवसरमा पत्रकारहरूलाई सम्मानित गरिने छ। उक्त जानकारी पीसीएसका प्रचार सचिव पंकज ढुङ्गेलले आज जारी एक प्रेस विज्ञप्तिमा दिएका छन्।
पीसीएसले यो वर्ष वरिष्ठ पत्रकार एवं डिजिटल न्यूज पोर्टल इस्टमोजोका प्रमुख सम्पादक एवं सह संस्थापक कर्म पाल्जोरलाई सर्वोच्च सम्मान 'कञ्चनजङ्घा कलम पुरस्कार 2025' प्रदान गर्ने भएको छ। नाम्ची जिल्लाको राबोङ निवासी पत्रकार पाल्जोरले पत्रकारिताको क्षेत्रमा 24 वर्षभन्दा धेरै समय समर्पित गरिसकेका छन्। उनले राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित मिडिया हाउसहरूसॅंग सम्बद्ध भएर काम गरेका छन्।
यसैगरी, 2016—17 मा राम पात्रो मेमोरियल अवार्डले सम्मानित फोटो पत्रकार वाङ्गछेन लामालाई यो वर्ष लगनशील युवा पत्रकार पुरस्कार 2025 ले सम्मानित गर्ने निर्णय लिएको छ। यस अतिरिक्त, प्रेस क्लबले यस क्षेत्रमा दुई दशकभन्दा धेरै समय योगदान दिने वरिष्ठ पत्रकारहरूलाई पनि सम्मानित गर्ने भएको छ।
यस क्रममा वरिष्ठ भिडियो जर्नलिस्ट बिनोद तामाङ, भिडियो जर्नलिस्ट राजेन छेत्री, पत्रकार नरेन्द्र कुमार राई र वरिष्ठ पत्रकार हेम कुमार खवासलाई सम्मानित गरिने छ। यस अतिरिक्त, नाम्चीका मोहम्मद रमजान अलीलाई समाचार पत्र वितरक सम्मानले सम्मानित गरिने छ।
प्रेस क्लब अफ सिक्किमले हरेक वर्ष 17 जुलाईमा आफ्नो स्थापना दिवस पालन गर्दै आएको छ। यस वर्षको पुरस्कारले पत्रकारिताको उत्कृष्टता, सामुदायिक प्रभाव र क्षेत्रमा उदीयमान प्रतिभालाई सम्मान गर्ने क्लबको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
हिन्दुस्थान समाचार / बिशाल