सिक्किमेली दाहाल वंशावली लोकार्पित
सिक्किमेली दाहाल वंशावली लोकार्पित


रम्फू, 06 जुलाई (हि.स.)। अखिल सिक्किम‌ खस दाहाल बन्धुहरूको वंशावली आज एक कार्यक्रमबीच यहाँ लोकार्पित गरियो। कार्यक्रममा राज्यका विभिन्न स्थानहरूबाट भेला भएका वत्स गोत्रीय दाहाल बन्धुहरूको बाक्लो उपस्थिति रहेको थियो।

यस वंशावलीलाई नाम्ची जिल्लाको नामथाङ निवासी बलराम दाहालले सङ्कलन र प्रकाशन गरेका हुन्। वंशावलीको लोकार्पण कार्यक्रमबीच अखिल सिक्किम खस दाहाल बन्धु परिवारले पश्चिम पाण्डाम, पाथाङ निवासी 100 वर्षीय चुडामणि दाहाललाई उमेर शतकीय यात्रा पूरा गरेकोमा नागरिक अभिनन्दन समेत जनायो। सोही प्रकारले वंशावली तयार पारेर प्रकाशित गरेर सबैको हात हातमा थमाइदिने बलराम दाहाललाई पनि उनको यस कार्यको मूल्याङ्कन गर्दै अभिनन्दित गरियो।

अखिल सिक्किम खस दाहाल बन्धु परिवारको पुरानो कार्यकारी समितिको कार्यवधि समाप्त भएकोमा पुरानो समितिको स्थानमा बीएल दाहालको अगुवाईमा एउटा नयाँ समिति पनि गठन गरियो, जसमा विभिन्न सदस्यहरूलाई विभिन्न पदीय जिम्मेवारीहरू दिइयो।

अध्यक्ष बीएल दाहालले सबैप्रति आभार व्यक्त गर्दै सङ्गठन, समाज र राज्यको हितमा सबैले एक भएर आ आफ्नो योगदान दिनुपर्ने आह्वान गरे। उनले आफ्नो सङ्गठनका युवाहरूसित रक्तदान, पर्यावरण संरक्षण, शिक्षा, स्वास्थ्य र खेलकूद आदि क्षेत्रहरूमा कार्य गर्ने अपील गरे। वंशावली तयार गर्ने बलराम दाहालप्रति उनले सङ्गठनको तर्फबाट आभार प्रकट गरे।

वंशावली सङ्कलनकर्ता बलराम दाहालले आफ्नो सम्बोधनमा वंशावली तयार गर्दा धेरै कठिनाइहरू खप्नु परेको जिकिर गर्दै धेरैजना सहयोगी हातहरूका कारण यो दुष्कर कार्य सफल बन्न पुगेको बताए। कार्यक्रममा आफ्नो जीवनको शतकीय यात्रा पूरा गरिसकेका चुडामणि दाहालले सबैलाई आशिर्वचन दिए।

कार्यक्रममा विभिन्न जिम्मेवारी प्राप्त गरेका कार्यकारी समितिका सदस्यहरू र अन्य सदस्यहरूले आ आफ्ना मन्तव्य व्यक्त गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande