सफलताको लागि युवाहरुमा धैर्य, कडा मेहनत र अनुशासित जीवन चाहिन्छ: क्रिस्पिन छेत्री
क्रिस्पिन छेत्री


खरसाङ, 08 जुलाई (हि.स.)। भारतको राष्ट्रिय महिला फुटबल टिमका मुख्य कोच क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लबले आज उनको निवास स्थानमा भेटघाट गरेर बधाई दिएको छ। खरसाङको सन्त मेरिज निवासी क्रिस्पिन छेत्रीको‌ कोचिङमा भारतको राष्ट्रिय महिला फुटबल टिमले हालैमा थाईल्याण्डलाई 2-1 को अन्तरले जितेर अष्ट्रेलियामा हुने एएफसी वुमेन्स एसियन क्लब 2026 को लागि क्वालिफाई गरेको छ।

अहिले क्रिस्पिन छेत्री आफ्नो घर आएका छन्। यस अवसरमा भारतीय राष्ट्रिय महिला फुटबल टिमको कोच एवं युनाइटेड खरसाङ फुटबल क्लबका पूर्व खेलाडी छेत्रीलाई क्लबका पदाधिकारीहरुले भारतको राष्ट्रिय महिला फुटबल टिमलाई 22 वर्षपछि पुनः एएफसी एशियन कप‌ 2026 को लागि चयन गराउन ऐतिहासिक उपलब्धि हासिल गरेकोमा बधाई दिए।

छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै सफलताको लागि युवाहरुमा धैर्य, कडा मेहनत र अनुशासित जीवन चाहिने बताए। उनले सफलताको लागि संघर्ष गर्नुपर्छ र परिवारको पनि साथ चाहिन्छ भने। राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच छेत्रीले भने, आफूले जे सोच्छ त्यसमाथि कडा मेहनत गर्नुपर्छ। आफ्नो इच्छा शक्ति पनि चाहिन्छ। हाम्रो क्षेत्रका युवाहरुमा धेरै सम्भावना छ। तर, त्यसको लागि कतिपय कुराहरू त्याग गर्न सक्नु पर्छ। कोहीबेला असफल पनि भइन्छ, तर असफलताहरुलाई लिएर नै अघि बढ्नुपर्छ।

छेत्रीले केही दिन घरमा बसेर पुनः कार्यमा फर्किने बताएका छन्। उनले आफूलाई समर्थन गर्ने दार्जिलिङ पहाड, खरसाङ क्षेत्रका सबै वरिष्ठ जनलाई धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande