खरसाङ, 08 जुलाई (हि.स.)। सडक सुरक्षा सप्ताह अन्तर्गत मंगलवार अन्तिम दिन दार्जिलिङ पुलिस र खरसाङ ट्राफिक पुलिसको संयुक्त तत्वावधानमा खरसाङमा सेफ ड्राइभ सेभ लाइभ र ड्रग्स विरोधी अभियानलाई लिएर सचेतना ऱ्याली आयोजना गरियो। खरसाङको मोटर स्ट्याण्डदेखि शुरु भएको उक्त सचेतना ऱ्याली हिल कार्ट रोड हुँदै अस्पताल मोड भएर वर्द्धवान रोड भएर पुन: मोटर स्ट्याण्डमा आएर सचेतना कार्यक्रममा परिणत भयो।
सडक सुरक्षा सप्ताह गत 1 जुलाईदेखि शुरू गरिएको थियो भने आज 8 जुलाई अन्तिम दिन सचेतना ऱ्याली र कार्यक्रम आयोजन गरियो। ऱ्यालीमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, जीटीएको कार्यकारी सभासद रतन थापा, ब्याडमिन्टन एसोसिएशनका सभापति प्रेमेन्द्र गुरूङ, खरसाङ ट्राफिक पुलिसका प्रभारी बीरेन्द्र छेत्री र उनका सहयोगी पुलिस अधिकारीहरु, खरसाङ बजार क्षेत्रका विभिन्न विद्यालयका शिक्षकगण, विद्यार्थीहरु र अन्यहरूले भाग लिएका थिए।
सचेतना ऱ्यालीमा जनसाधारण र चालकहरुमा सचेतना फैलाउन विद्यार्थीहरुले प्ला कार्डहरु बोकेका थिए, जसमा सचेतनामूलक सन्देशहरू लेखिएका थिए। यस अवसरमा लागूऔषध दुरुपयोगमाथि पनि सचेतना गराइएको थियो। कार्यक्रममा खरसाङ ट्राफिक पुलिसका प्रभारी बीरेन्द्र छेत्रीले ट्राफिक नियमहरु विषयमा जानकारी गराउँदै खरसाङ बजारमा बाइक स्कूटीहरुको लागि 6 वटा ठाउॅं पार्किङ स्थल तय गरिएको बताए।
उनले ड्रग्स बेच्ने र खानेहरुलाई पनि चेताउनी दिॅंदै समाज विरोधी कार्य नगर्न आह्वान गरे। उनले पक्राउ गरेको खण्डमा 10 वर्षसम्म जेलको सजाय हुने बताए। उनले आगामी 16 जुलाईमा ड्रग्स रोकथामको लागि वृहत सचेतना ऱ्यालीको आयोजना गरिने जानकारी गराए।
खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङले ट्राफिक विषयमा जनसाधारणलाई सचेत गर्न विद्यार्थी नानीहरु बेस्ट एम्बासेडर हुन् भनी बताए। उनले खरसाङका सम्पूर्ण जनता सचेत हुनुपर्छ भन्दै ड्रग्स विरोधी अभियानमा सबैजना एक भएर काम गर्नुपर्ने आह्वान गरे। उनले ट्राफिक र ड्रग्सबाहेक पनि समाजका नमिलेका कुराहरु सबै एकजुट बनेर मिलाउनुपर्छ भनी बताए।
भाइस चेयरम्यान सुवास प्रधानले आफ्नो सम्बोधनमा खरसाङ शहरलाई सुरक्षित र व्यवस्थित राख्नलाई सबैको साथ र सहयोग चाहिने बताए। उनले यो बर्खाको समयमा दुर्घटनाबाट बाँच्नलाई सबैले गाडीको ब्रेकहरु सठीक रुपमा जाँच गरेर चलाउनु पर्ने सुझाउ दिए।
हिन्दुस्थान समाचार / हनोक