नाम्ची, 08 जुलाई (हि.स.)। विश्व युवा कौशल दिवस 2025 पालन गर्ने क्रममा आज नाम्चीको टाउन हलमा सिक्किम इन्स्पायर्स अन्तर्गत कौशल विकासमाथि जिल्ला आउटरिच कार्यक्रम आयोजन गरियो। कार्यक्रमको आयोजना आईटीआई क्युजिङले जिल्ला कौशल समिति, नाम्चीको संयुक्त तत्वावधानमा गरेको थियो। यस अवसरमा विधायक सतिशचन्द्र राई मुख्य अतिथि थिए।
मुख्य अतिथि विधायक राईले आफ्नो सम्बोधनमा रोजगारका अवसरहरू बढाउनमा दक्ष युवाहरूको भूमिकामाथि जोड दिए। उनले सरकार र विभागले शुरू गरेका विभिन्न कौशल विकास कार्यक्रम र कोर्सहरूको बारेमा जानकारी गराए, जसको उद्देश्य युवाहरूलाई व्यवहारिक र उद्योग प्रासंगिक दक्षताले सशक्त बनाउनु रहेको छ।
एक परिवार, एक उद्यममाथि बोल्दै उनले कार्यक्रमको उद्देश्य आकांक्षी युवाहरूलाई उद्यमशीलता उपक्रमहरूलाई अगाडि बढाउन प्रोत्साहित गर्नु र समर्थन गर्नु रहेको जानकारी गराए। विधायक राईले शिक्षित बेरोजेगार युवाहरूलाई आईटीआईद्वारा उपलब्ध गराइएका प्रशिक्षण कार्यक्रमहरूबाट लाभ उठाउन आह्वान गरे।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा सरकारले एमबीबीएस, नर्सिङ, पाइलट प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रहरूमा आकांक्षी विद्यार्थीहरूलाई वित्तीय सहायता प्रदान गरिरहेको जानकारी गराए। उनले युवाहरूलाई आफ्नो लक्ष्यमा समर्पित बन्न आह्वान गरे।
नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षक कर्म ग्याम्छो भोटियाले युवाहरूको जीवनमा व्यक्तिगत र सामाजिक प्रगतिको लागि अनुशासनको महत्वपूर्ण भूमिकामाथि जोड दिए। उनले एक जिम्मेवार र कानुन पालन गर्ने नागरिकको निर्माणमा अनुशासनको भूमिका महत्वपूर्ण रहेको बताए। उनले युवाहरूलाई धुम्रपान, नशालु पदार्थको दुरुपयोग र नकारात्मक संगतबाट टाडा बस्न सुझाउ पनि दिए।
हिन्दुस्थान समाचार / बिशाल