गान्तोक, 17 सेप्टेम्बर (हि.स.)। विश्वकर्मा पूजा र प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको शुभ अवसरमा आज सिक्किमले राष्ट्रव्यापी पहलको अनुरूप सेवा पखवाडा अभियान शुरु गर्यो। सेवा पखवाडा अभियानको उद्घाटन आज राजधानीको रिज पार्कस्थित उत्सव प्लाजा, स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा आयोजित एक भव्य समारोहबीच गरियो। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थिति रहेको थियो।
सार्वजनिक सेवा र सामाजिक कल्याणप्रति समर्पित राष्ट्रिय अभियान सेवा पखवाडा आगामी 2 अक्टोबरसम्म चल्नेछ। कार्यक्रममा मुख्यमन्त्रीले विकसित भारत @2047 को भिजन अन्तर्गत समावेशी विकासको प्रतिबद्धता व्यक्त गर्दै राज्यमा यस अभियानका गतिविधिहरूको उद्घाटन गरे।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गरे। उनले प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वले भारतको विश्वव्यापी प्रतिष्ठालाई उच्च बनाएको र देशको हरेक कुनामा विकास ल्याएको बताए। उनले भने, सेवा पखवाडाले अन्त्योदयप्रतिको प्रधानमन्त्रीको गहिरो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
सिक्किममा सम्पन्न गरिने विभिन्न गतिविधिहरू मध्ये रक्तदान एवं स्वास्थ्य शिविरहरू, स्वच्छता एवं पर्यावरण अभियानहरू, जन सचेतना कार्यक्रमहरू, दिव्याङ्गजनहरूलाई सहायता, मोदी विकास म्याराथन र खेलकुद एवं सांस्कृतिक प्रतियोगिताहरू सामेल छन्। मुख्यमन्त्रीले यी पहलहरू राज्यभरि सामुदायिक संलग्नता र जन कल्याणलाई सुदृढ पार्ने उद्देश्यले गरिएको जानकारी दिए।
कार्यक्रममा मुख्यमन्त्रीले विभिन्न कल्याण पहलहरू पनि लोकार्पण गरे, जसमा आमा सशक्तिकरण योजना अन्तर्गत 31 हजार आमाहरूलाई वित्तीय अनुदान, दिव्याङ्गजन, स्वच्छता कर्मी र ग्राम पञ्चायतहरूलाई समर्थन एवं मान्यता, आयुष्मान भारत कार्ड वितरण, स्वास्थ्य महिला, सशक्ति परिवार अभियान, राज्यव्यापी राष्ट्रिय पोषण माह, पीएम टीबी मुक्त भारत पहल आदि सामेल छन्।
यस अतिरिक्त, औपचारिक दर्ता, टुलकिट, अनुदानित ऋण र रोजगार सहयोग मार्फत परम्परागत कारीगरहरूलाई सशक्त बनाउन सिक्किममा प्रधानमन्त्री विश्वकर्मा योजना लागू गरिएको पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा जानकारी गराए। विश्वकर्मा जयन्तीको सबैमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्रीले हामी दूरदर्शी नेतृत्वलाई मात्र होइन, हामी हाम्रो राष्ट्रलाई हरेक दिन निर्माण गर्ने हातहरूलाई पनि सम्मान गर्छौं भनी बताए। उनले सबै नागरिकहरूलाई विकसित भारतको साझा दृष्टिकोणलाई साकार पार्न टिम सिक्किमको रूपमा अगाडि बढ्न आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल