गोलाघाट (असम), 18 सेप्टेम्बर (हि.स.)। राज्यमा यस वर्ष तेस्रो पटक आएको बाढ़ीले गर्दा गोलाघाट जिल्लामा सामान्य जनजीवन पूर्ण रूपले प्रभावित भएको छ। यसबीच बाढ़ीलाई मध्यनजर गर्दै शिक्षा विभागले गोलाघाट जिल्लामा नवौं र दशौं श्रेणीको अर्धवार्षिक परीक्षालाई अघिल्लो आदेशसम्मको लागि स्थगित गरिदिएको छ। निर्धारित समय सारणी अऩुसार आगामी 20 सेप्टेम्बरदेखि दुवै श्रेणीको परीक्षा शुरू गर्ने निर्धारण गरिएको थियो। जानकारी अनुसार अब दुर्गा पूजापछि मात्र अर्धवार्षिक परीक्षा आयोजना हुनेछ।
उल्लेखनीय छ, जिल्ला अधिनस्थ नुमलीगढ़को मरंगी मौजामा धनशिरी नदीमा आएको बाढ़ीले व्यापक क्षति पुऱ्याएको। बाढ़ीको पानी निरन्तर नयाँ-नयाँ क्षेत्रमा पसिरहेको छ। धनशिरी नदीको पानीले मारंगीको सेसमुख क्षेत्रमा भयानक रूप धारण गरेको छ। बाढ़ीमा धेरै परिवार अनि पशुधन फसेका छन्। घरभित्र पनि पानी पसिसकेको छ। मरंगी मौजाका लगभग 25 वटा गाउँका लगभग दश हजार मानिसहरू बाढ़ीबाट प्रभावित भएका छन्।
यता गोलाघाट जिल्लाको खुमटाई क्षेत्रमा पनि बाढ़ीको स्थिति समस्याहरूको कारण बन्न पुगेको छ। खुमटाई विधानसभाका लगभग 30 वटा गाउँ पानीमा डुबेका छन्। ऐतिहासिक धोदर आलीलाई राष्ट्रिय राजमार्ग-39 सित जोड़्ने मुख्य मार्ग माथि-माखि पानी बगिरहेको छ। बाढ़ी प्रभावित मानिसहरू आश्रय शिविरमा आश्रय लिन बाध्य भइरहेका छन्। यसबीच पूर्व मन्त्री विष्मिता गोगोईले आश्रय शिविरहरूको दौड़ाह गरी स्थितिको जायजा लिएकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा