गेजिङमा 'उन्नति २०२४' योजनामाथि सचेतनामूलक कार्यशाला सम्पन्न
गेजिङमा 'उन्नति २०२४' योजनामाथि सचेतनामूलक कार्यशाला सम्पन्न


गेजिङ, 19 सेप्टेम्बर (हि.स.)। 'उन्नति २०२४' योजनामाथि गेजिङमा सचेतनामूलक कार्यशाला सम्पन्न भयो। पेलिङस्थित याङथाङ फार्ममा आयोजित कार्यक्रम भारत सरकारको उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन अनि सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागको समन्वयमा आयोजना गरियो। कार्यक्रमको अध्यक्षता आरडीडी अध्यक्ष नारायण खतिवडाले गरेका थिए।

साथमा, वाणिज्य तथा उद्योग विभागका संयुक्त सचिव गोपाल छेत्री, पेलिङ पर्यटन विकास सङ्घका अध्यक्ष सन्तोष प्रधान, एसएलबीसी सिक्किमबाट गोपाल लामा, पीआईयू सन्तोष शाव लगायत वाणिज्य तथा उद्योग विभाग डीआईसी-का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

आफ्नो सम्बोधनमा अध्यक्ष खतिवडाले उन्नति योजनालाई लिएर आफ्नो विगतका अनुभव साझा गरे। उनले पर्यटन उद्योगलाई लिएर पनि कुराकानी गरे। विभिन्न उद्यमसँग संलग्न व्यक्तिहरूका लागि यस्तो कार्यशाला लाभप्रद हुने विचार प्रकट गरे। कार्यान्वयन गरिँदा लाभदायी हुने योजनाहरूलाई अवलम्बन गरिनुपर्ने उनले बताए।

यसअघि, आफ्नो सम्बोधनमा वाणिज्य एवम् उद्योग विभागका संयुक्त सचिव छेत्रीले योजनाका मुख्य विशेषताहरू व्याख्या गर्दै आफ्नो मन्तव्य प्रस्तुत गरे। उनले नयाँ उद्यमको स्थापना र सिक्किममा विद्यमान यसको विस्तारलाई सहयोग गर्न योजनाको भूमिकाबारे स्पष्ट पारे।

राज्य स्तरीय ब्याङ्कर्स समितिबाट गोपाल लामाले सम्बोधन गर्दै ब्याङ्क सम्बन्धी विभिन्न कुराहरूमाथि अवगत गराए। कार्यक्रममा जानकारीमूलक प्राविधिक प्रस्तुति पनि गरिएको थियो। जेई (डीआईसी गेजिङ) इभान गुरुङद्वारा स्वागत सम्बोधनबाट सुरु भएको कार्यक्रम निरीक्षक धीरज जैरुद्वारा धन्यवाद ज्ञापन गरिएपछि समापन भएको डीआईओ गेजिङले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande