भगवान बुद्धले ज्ञान प्राप्त गरेको बोधगया समितिमा बुद्धिष्टहरु नै हुनपर्छ: आकाश लामा
भगवान बुद्धले ज्ञान प्राप्त गरेको बोधगया समितिमा बुद्धिष्टहरु नै  हुनपर्छ: आकाश लामा


मङ्पू, 19 सेप्टेम्बर (हि.स.)। भगवान बुद्धले ज्ञान प्राप्त गरेको बोधगया समितिमा बुद्धिष्टहरु नै हुुनपर्छ भनी अल इण्डिया बुद्धिष्ट फोरमका महासचिव आकाश लामाले बताएका छन्। शुक्रवार मङ्पूमा अल इण्डिया बुद्धिष्ट फोरमले नालीडाँडा शान्तिचोकदेखि रेसेश बजार परिक्रमा गर्दै एक शान्ति मशाल जुलुस निकाल्यो। उक्त मशाल जुलुसमा मङ्पू वरिपरि क्षेत्रका बौद्धमार्गी धर्मावलम्बीहरुले अंश ग्रहण गरेका थिए।

सुरेन पाख्रीनले सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अल इण्डिया बुद्धिष्ट फोरमका महासचिव आकाश लामाले सम्राट अशोकले निर्माण गरेको महाबोधि महाबिहार अर्थात भगवान बुद्धले ज्ञान प्राप्त गरेको ठाँउ बोधगया सञ्चालन समितिमा पूर्ण रुपले बौद्ध धर्मलम्बीहरु हुनुपर्ने मागमा नै आजको शान्ति जुलुस मङ्पूमा गरिएको कुरा जनाए। हाल उक्त सञ्चालित समितिमा ९ जनामध्ये केवल चारजान मात्र बुद्धिष्ट रहेको कारण समितिमा पूर्ण नौजना नै बुद्धिष्ट हुनपर्ने बताए।

लामाले यसै विषयलाई लिएर गत तीन वर्षदेखि फोरमले आन्दोलन गरिरहेको र गत 10 अगस्तदेखि भारतका विभिन्न प्रान्तहरुमा शान्ति मशाल जुलुस भइरहेको छ भने आज मङ्पूमा पनि उक्त कुराको मागलाई लिएर शान्ति मशाल जुलुस निकालिएको जनाए। यसरी यस विषयलाई लिएर कानुनी तौरमा पनि सुनाई भइरहेको छ भने हाम्रो मुख्य माग 1949 बीटी एक्ट खारेज गर्नुपर्ने रहेको उनले बताए।

10 अगस्तदेखि चलिरहेको शान्ति मशाल जुलुस आगामी महिना बोधगयामा हुनेछ भने त्यसपछि दिल्लीमा पनि वृहत रुपमा शान्ति मशाल जुलुस हुने सचिव लामाले बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande