उत्तरदायी पर्यटनको लागि दोस्रो खरसाङ विन्टर रन आयोजना गरिने, विन्टर रनको ब्यानर, पोस्टर र लोगो सार्वजनिक
उत्तरदायी पर्यटनको लागि दोस्रो खरसाङ विन्टर रन आयोजना गरिने


खरसाङ, 19 सेप्टेम्बर (हि.स.)। यसपाली पनि खरसाङमा पर्यटनको लागि खरसाङ विन्टर रन आयोजना गरिने भएको छ। गत वर्ष दिगो पर्यटनको लागि दिसम्बर 2024 मा खरसाङ विन्टर रन आयोजना गरिएको थियो भने यसपाली उत्तरदायी पर्यटनको लागि आगामी 9 नोभेम्बर, 2025 मा खरसाङ विन्टर रन आयोजना गरिने भएको छ।

गत वर्ष पहिलोपटक खरसाङ विन्टर रन एक दिवसीय रुपमा आयोजना गरिएको थियो भने यसपाली उक्त खरसाङ विन्टर रन दुई दिवसीय रुपमा उत्तरदायी पर्यटनको उद्देश्यका साथमा आगामी 8 र 9 नोभेम्बर, 2025 मा आयोजना गरिने भएको छ। उक्त खरसाङ विन्टर रनलाई लिएर आज खरसाङमा पहिलो सभा सम्पन्न भएको छ।

सभामा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, सभासद श्याम शेर्पा, डीएफओ देवेस पाण्डे, रेञ्जर अफिसर सम्पदा साधु, खरसाङ पञ्चायत समितिका कर्माध्यक्ष भक्तिमान तामाङ र मौसम तामाङ, विद्युत् विभाग खरसाङका डिभिजनल म्यानेजर सन्दीप तामाङ, प्रेस क्लब अफ् खरसाङका सभापति वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम, सचिव हनोक थापा लगायत अन्य प्रतिनिधिहरु उपस्थित रहेका थिए।

सभामा दोस्रो खरसाङ विन्टर रन आयोजना विषयमा चर्चा परिचर्चा गरियो। सभापछि यसपाली हुने खरसाङ विन्टर रनको ब्यानर, लोगो र पोस्टरहरु संयुक्त रुपमा सार्वजनिक गरियो। यसपाली हुने खरसाङ विन्टर रनको पहिलो दिन 8 नोभेम्बरमा एथलेटिक्स र स्थानीयहरु साथै पर्यटकहरुलाई लिएर हेरिटेज टुर गराइने भएको छ। यसका साथै दोस्रो दिन 9 नोभेम्बर, 2025 मा खरसाङ विन्टर रनको आयोजना गरिने छ।‌

यसपाली खरसाङ विन्टर रन अन्तर्गत फन रनको पनि आयोजना गरिने जानकारी गराइएको छ। खरसाङ विन्टर रन अन्तर्गत 10 किलोमिटर (पुरुष/महिला) खुला दौड हुनेछ, जसमा प्रथमलाई 25 हजार, दोस्रोलाई 15 हजार र तेस्रो हुनेलाई 10 हजार रुपियाँ प्रदान गरिने छ। त्यसरी नै 10 किलोमिटर 45 वर्षमाथि (पुरुष/महिला) वर्गमा प्रथमलाई 15 हजार, दोस्रोलाई 10 हजार र तेस्रो हुनेलाई 5 हजार रुपियाँ प्रदान गरिने घोषणा गरिएको छ।

त्यसरी नै 5 किलोमिटर ओपन (पुरुष/महिला) वर्गमा पहिलाे हुनेलाई 10 हजार, दोस्रोलाई 7 हजार र तेस्रो हुनेलाई 5 हजार रुपियाँ प्रदान गरिने घोषणा गरिएको छ।‌ यसरी नै 5 किलोमिटर 45 वर्षमाथि (पुरुष/महिला) वर्गमा प्रथमलाई 7 हजार, दोस्रोलाई 5 हजार र तेस्रोलाई 3 हजार रुपियाँ प्रदान गरिने घोषणा गरिएको छ।‌ प्रतियोगिताहरूमा भाग लिनका लागि अनलाइनमार्फत् पञ्जीकरण गर्न सकिने बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande