सोनादा, 02 सेप्टेम्बर (हि.स.)। रङ्गबुल धोतरिया जोनको धोतरिया कलेजभेल्ली गाउँहरुबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्ट र अन्य दलहरुबाट भागोप्रमोमा सामेल भएका 180 घरहरूलाई पार्टीमा स्वागत गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय पार्टी अध्यक्ष अनित थापाले पहाडको समृद्धि, विकास र शान्तिको लागि बंगाल सरकारसँग मिलेर काम गर्ने कुरा पुन: दोहोऱ्याएका छन्।
उनले 2017 अघिको राजनीति अनि आजको राजनीतिमा फरक आएको छ भन्दै भने, 'पहाडलाई शान्तिको मार्गमा लैजाने मेरो राजनीतिक यात्रा सजिलो यात्रा थिएन। हिजोको दिनमा कराउनु, उफ्रिनुलाई राजनीति भन्थ्यो। आज त्यसरी राजनीति गर्नु मिल्दैन। आज दोषारोपणको राजनीति काम लाग्दैन। कामको राजनीति, उपलब्धिको राजनीति मात्र जनताले देख्छ। राजनीतिमा धैर्य चाहिन्छ अनि नेतृत्वमाथि विश्वास राख्नुपर्छ।'
उनले अझ भने, 'पहाडमा हामी राजनीतिक शिकार बन्दैछौँ। हामी राजनीतिक रूपमा सचेत छैनौं। तृणमूलसँगको हाम्रो राजनीतिक समीकरणको नकारात्मक न्यारेटिभले अन्य पार्टीले फाइदा लिन्छ। हामीले सांसदको चुनाउमा भारतीय जनता पार्टीलाई जितायौं। हामीलाई हरायो। नोक्सान गोर्खालाई नै भएको छ। शिकार दार्जिलिङ पहाडको गोर्खा नै भएको छ।'
थापाले कसैको नाम नलिई कटाक्ष गर्दै भने, 'हामी राजनीतिक उटपट्याङ कुरा सुन्नु हुँदैन। उनीहरुको राजनीतिक लक्ष्य, भिजन, रणनीति भनेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीलाई हराउनु मात्र रहेछ। म हार जीतको लडाइँमा निस्केको होइन। सभ्य समाज, सभ्य सोच, सभ्य परिवेश सृजना गर्ने हाम्रो राजनीति हो। मलाई चुनाउ जित्दा कुर्सीको याद आउँदैन।'
उनले आफ्नो अडान स्पष्ट पार्दै भने, 'म राज्य सरकारसँग मिलेर काम गर्ने नेता हुँ। मलाई मान्छेले भोट नदेला बंगाल सरकारसँग मिल्यो भन्दा तर बङ्गाल सरकारसँग मिलेर काम गरेनौं भने यहाँको विकास कहाँबाट हुन्छ? त्यसैले म खुल्लम खुल्ला भन्छु म पहाडको समृद्धि, विकास अनि शान्तिको निम्ति बंगाल सरकारसँग मिलेर नै काम गर्छु। आफ्नो खुट्टामा उभिने राजनीति हो मेरो।'
हिन्दुस्थान समाचार / हनोक