मानिसहरूलाई हाम्रा सबै सम्पदा स्थलहरू बचाउन अघि आउन आग्रह गर्दछौँ: आकाश प्रधान
दार्जिलिङ, 02 सेप्टेम्बर (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको एक प्रतिनिधि टोलीले आज एशियाकै पहिलो जलविद्युत परियोजना, सिद्राबोङ पावर स्टेशनको निरीक्षण भ्रमण गरेको छ। आकाश प्रधानको नेतृत्वमा पार्टीका सदस्यहरू पुष्कर, सञ्जोग, दिपांकर र अन्य युवाहरूले गरेको निरीक्षण भ्रमण अवधि स्थानीय मानिसहरूसँग कुराकानी गरे।
पार्टीका प्रतिनिधि टोलीले सम्पदाको दयनीय अवस्था देखेर चिन्ता व्यक्त गरेका छन्। जिम्मेवार निकायले कुनै पनि सुधार नगरेको उनीहरूले आरोप लगाएका छन्। यस विषयमा आकाश प्रधानले भने, 'गलत र भ्रष्ट नेताहरूको कारणले गर्दा हाम्रो इतिहास मेटिँदैछ। यसैले हाम्रो आईजीजेएफ टोलीले सकारात्मक परिवर्तन ल्याउने वाचा गर्दछ। पार्टीले सम्बन्धित सरकारी निकायहरूसँग सम्पर्क गर्नेछ ताकि केही ठोस कदम चाल्न सकियोस्।'
उनीहरूले दार्जिलिङका सबै मानिसहरूलाई सबै सम्पदा स्थलहरू बचाउन अघि आउन आग्रह गरेका छन्। उनीहरूले केही स्वार्थी नेताहरूले आफ्नो व्यक्तिगत फाइदाको लागि दार्जिलिङको इतिहास बेच्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। यस्ता नेताहरूले चियाबारीका जग्गाहरू पनि बेच्न खोजिरहेको र दार्जिलिङ नगरपालिकाका सार्वजनिक सम्पत्तिहरू पनि अप्रत्यक्ष रूपमा लिजको नाममा बिक्री गरिरहेको उनीहरूले आरोप लगाएका छन्।
हिन्दुस्थान समाचार / हनोक