खरसाङ, 02 सेप्टेम्बर (हि.स.)। खरसाङका समाजसेवी तथा विभिन्न क्षेत्रमा सक्रिय रुपमा कार्य गरेका विशिष्ट व्यक्ति दुर्गासिंह छेत्रीको निधनमा खरसाङमा विभिन्न संघ संस्थाहरुद्वारा सामूहिक शोक सभाको आयोजना गरिएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न आयोजित उक्त शोक सभाको अध्यक्षता गोर्खा जनपुस्तकालय खरसाङका सभापति रबीनकुमार प्रधानले गरेका थिए।
सभाको शुरुमा खरसाङका विभिन्न संघ संस्थाहरुका अध्यक्षहरुका बाहुलीबाट समाजसेवी दुर्गासिंह छेत्रीको तस्वीरमा द्वीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरे भने उपस्थित विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि उनको आत्मा शान्तिको लागि एक मिनटको मौन धारण गरियो।
शोक सभामा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट पूर्व सभापति एवं वरिष्ठ सदस्य साथै समाजसेवी तिलक शर्मा, जागृति परिवारको तर्फबाट संस्थापक पूर्ण गुरुङ 'निरुपम', गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट अध्यक्षा आशा मुखिया लामा, खरसाङ महकुमा खेलकूद संघको तर्फबाट सचिव निर्मल गुरुङ, भारतीय गोर्खा परिसंघको तर्फबाट खरसाङ क्षेत्रीय समितिको सचिव लक्ष्मण शर्मा, शिक्षकहरुको तर्फबाट डेभिस प्राथमिक पाठशालाका पूर्व प्रधान अध्यापक ऋषि राई, डेभिस प्राथमिक पाठशालाका वर्तमान प्रधान अध्यापक साथै शतवार्षिकी समारोह समितिका सचिव सन्तोषसिंह लकान्द्री, परिवार पक्षबाट भाइ बीबी छेत्रीले वक्तव्य राखेका थिए।
सभामा वक्ताहरुले स्व. दुर्गासिंह छेत्रीले दिएको योगदानको उल्लेख गरे। वक्ताहरुले स्व. छेत्री अब्बल दर्जाको खेलाडी, राजनीतिज्ञ, शिक्षा, खेलकूद, साहित्य, संस्कृति र विभिन्न क्षेत्रमा दिएको योगदान विषयमा बताएका थिए।
हिन्दुस्थान समाचार / हनोक