गान्तोक, 02 सेप्टेम्बर (हि.स.)। सोरेङ जिल्लाको छोटा सामदोङ सरकारी उच्चतर माध्यमिक विद्यालयमा आज मिशन वात्सल्य योजना अन्तर्गत प्रदान गरिने बाल अधिकार कानून र सेवाहरूको बारेमा जागरूकता र संवेदीकरण कार्यक्रम आयोजन गरियो।
महिला, बालबालिका, वरिष्ठ नगरिक एवं दिव्याङ्गजन कल्याण विभाग अन्तर्गत जिल्ला बाल सुरक्षा एकाई, मिशन वात्सल्य योजनाद्वारा आयोजित कार्यक्रममा कानून एवं परिवीक्षा अधिकारी एरोमीना लेप्चाले मिशन वात्सल्य योजना अन्तर्गत जिल्ला बाल सुरक्षा एकाईमाथि बोल्दै एकाईद्वारा प्रदान गरिने सेवाहरूको बारेमा जानकारी गराइन्।
सुरक्षा अधिकारी (संस्थागत हेरचाह) टेकमाया शर्माले प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस् एक्ट, 2012 माथि प्रकाश पार्दै अन्तरक्रिया सत्रको माध्यमद्वारा सुरक्षित र असुरक्षित स्पर्शको बारेमा जानकारी प्रदान गरिन्। यसैगरी, श्रम निरीक्षक निता भुजेलले बाल श्रम (निषेध र नियमन) अधिनियम, 1986 माथि बोल्दै जोखिमपूर्ण वातावरणमा बालबालिकालाई काममा लगाउनुका खतराहरूबारे सचेत गराइन्।
चाइल्ड हेल्पलाइन युनिटकी केसवर्कर निर्मला छेत्रीले 24/7 चाइल्ड प्रोटेक्सन सर्विस र टोल फ्री चाइल्ड हेल्पलाइन नम्बर 1098 बारे जानकारी प्रदान गरिन्। कार्यक्रममा विद्यार्थीहरूका लागि प्रश्नोत्तर प्रतियोगिता पनि आयोजना गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल