साहित्यकार इन्द्र सुन्दासको १०७औं जन्म जयन्ती पालन, डा निना राईद्वारा लिखित कथा सङ्ग्रह ‘जीवन मञ्चन’ को विमोचन
साहित्यकार इन्द्र सुन्दासको १०७औं जन्म जयन्ती पालन


बिजनबारी, 22 सेप्टेम्बर (हि.स.)। इन्द्र सुन्दास स्मृति प्रतिष्ठानको तत्वावधानमा सोमवार साहित्यकार इन्द्र सुन्दासको १०७औं जन्म जयन्तीको अवसरमा थापा गाउँ प्राथमिक पाठशाला, कैंजली बस्ती र रोंगो प्राथमिक पाठशालामा विशेष साहित्यिक कार्यक्रमहरू आयोजना गरियो। यस कार्यक्रमको उद्देश्य साहित्यकार इन्द्र सुन्दासको जीवन, साहित्यिक र आध्यात्मिक योगदानलाई स्मरण गर्नु र विद्यार्थी तथा स्थानीय समुदायमा साहित्यप्रतिको चेतना जागाउनु गर्नु रहेको थियो।

कार्यक्रमका सभापति कैंजली हाइ स्कूलका शिक्षक भक्तकुमार सुब्बा रहेका थिए। कार्यक्रममा प्रधान शिक्षक सोनाम शेर्पा, शिक्षक उदयसिंह गहतराज, शिक्षिका कविता थापा, पुनम राई, सरस्वती तामाङसहित नौजना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा साहित्यकार इन्द्र सुन्दासको जीवनी, साहित्यिक योगदान र आध्यात्मिक दृष्टिकोणबारे डा. महेश प्रधानले विचार राखेका थिए।

उनले सुन्दासका कथा–उपन्यासहरूमा ग्रामीण जीवनको गहिरो चित्रण, सामाजिक यथार्थ र मानवीय संवेदनशीलताको साथै जीवनबोध र आध्यात्मिक चेतनाको सशक्त स्वर पनि रहेको व्याख्या गरेका थिए। उनका अनुसार, सुन्दासका कृतिहरू केवल मनोरञ्जनका लागि नभई मानिसलाई जीवनका गहिरा प्रश्नहरूसँग जुध्न र उत्तर खोज्न प्रेरित गर्ने माध्यम हुन्।

त्यस्तै, डा. निना राईले सुन्दासको साहित्यिक यात्रा, भाषा–शैली र नेपाली कथा साहित्यमा पुर्‍याएको योगदानलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गरेकी थिइन्। उनले सुन्दासका कृतिहरू नेपाली समाजलाई आत्मदर्शन गर्ने ऐना जस्तै काम गरेको उल्लेख गरेकी थिइन्।

कार्यक्रममा २०२५ को बाल साहित्य अकादमी पुरस्कार विजेता डा. साङ्मु लेप्चालाई प्रतिष्ठानको तर्फबाट विशेष सम्मान र संवर्द्धना प्रदान गरिएको थियो। यस अवसरमा डा. निना राईद्वारा लिखित कथा सङ्ग्रह ‘जीवन मञ्चन’ को औपचारिक विमोचन पनि गरिएको थियो। पुस्तक विमोचनपछि डा. साङ्मु लेप्चाले डा. निना राईको कथाकारिता र साहित्यिक दृष्टिकोणबारे गहकिलो वक्तव्य राखिन्। उनले राईका कथाहरूमा पात्रहरूको यथार्थता, भाषिक सौन्दर्य र समाजका विविध आयामहरूलाई मार्मिक रूपमा प्रस्तुत गरिएको प्रशंसा गर्दै यसलाई समकालीन नेपाली कथासाहित्यमा महत्वपूर्ण योगदान भएको बताइन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande