सिलगढी, 22 सेप्टेम्बर (हि.स.)। मानव उत्थान सेवा समिति सिलगढी र विजयनगर तहसिलको तत्वावधानमा एवं शास्त्रीनगर शाखाको सक्रियतामा श्री हंसबेला आश्रम सिलगढीमा सदगुरुदेव श्री सततपालजी महाराजजीको 74औँ जन्मोत्सव कार्यक्रम महात्मा देवा बाइजीको अध्यक्षतामा सम्पन्न भयो। महात्मा देवा बाइजी लगायत मानव उत्थान सेवा समिति सिलगढी तहसील प्रभारी महात्मा महेश्वरी बाइजी, विजयनगर तहसिल प्रभारी महात्मा महात्मा दक्षिणा बाइजी महात्मा सुलोचना बाइजी महात्मा धर्मानन्दजी आदिको करकमलबाट दीप प्रज्वलन एवं श्री महाराजजीको तस्बिरमा माल्यार्पण भई शुभारम्भ भएको कार्यक्रममा शास्त्रीनगर शाखाका सचिव श्री नवीन छेत्रीले स्वागत वक्तव्य दिएका थिए।
समितिका तराई डुवर्स भाग 1 का जिल्ला सचिव ज्योति थापाद्वारा सञ्चालित आजको कार्यक्रममा सदगुरुदेव श्री महाराजजीको जीवन लीला एवं अध्यात्मको माध्यमद्वारा राष्ट्रको निर्माणमा उनले दिएको उल्लेखनीय योगदानहरूको बारेमा महात्मा धर्मानन्दजीले हिन्दीमा, महात्मा दक्षिणा बाइजीले साद्री भाषामा अनि महात्मा सुष्मा बाइजी र महात्मा देवा बाइजीले नेपाली भाषामा सारगर्भित विचारहरू राखेका थिए। समारोहमा समितिका उत्तर पुर्वाञ्चल क्षेत्रका सांस्कृतिक विभागका प्रभारी बिमल राईको नेतृत्वमा बाल कलाकार विनेश राई, अश्विनी शर्मा, लगायत शवेता राई, अनुराग सुब्बा, मनिषा, सुदिता राई, राज विश्वकर्मा साथै अन्य उत्कृष्ट कलाकारहरूले सुमधुर भजनहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा सिमलबारी शाखा अनि सुकना सालबारी शाखाका बालसभाका कलाकारहरूले नृत्यसँगै गुरु महाराजजीलाई जन्मदिनको बधाई र शुभकामना दिँदै उनको विलक्षण प्रतिभाको जानकारी दिदैँ प्रस्तुति दिए। यसै कार्यक्रममा समितिका बालसभाका नानीहरू जसको बालसभाको उमेर सीमा पूरा भएकोले उनीहरूलाई आजदेखि युवा प्रकोष्टमा भर्ना गरिएको कुरो युवा प्रकोष्टका संयोजिका निमु शेर्पाले जानकारी दिएकी छन्।
हिन्दुस्थान समाचार / हनोक