खरसाङ, 22 सेप्टेम्बर (हि.स.)। 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टी अन्तर्गत मजुवामा सार्वजनिक भवन उद्घाटन साथै मोहन मजुवा प्राथमिक पाठशालाको शौचालय निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त नवनिर्मित सार्वजनिक भवनको उद्घाटन आज क्षेत्रीय सभासद सभासद श्याम शेर्पाको बाहुलीबाट गरियो।
मजुवा क्षेत्रका जनताले सार्वजनिक भवनको निर्माणको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्। कार्यक्रममा टुंग सन्त मेरिज समष्टीका सभासद नुरी शेर्पा, विद्युत् विभागबाट सुरज थापा, समष्टीबाट नारी शक्तिका सभापति सुष्मा मुखिया, पञ्चायत समिति सदस्य दिनेश तामाङ अनि पञ्चायत सदस्यहरु सिमा थापा, दिपेश थापा र शारदा थापा आदि उपस्थित रहेका थिए।
कार्यक्रममा मजुवा जस्तो दुर्गम क्षेत्रबाट नीट परीक्षा पास गरेर सहायक प्राध्यापक बनेका आशा तामाङ र संजोक सुब्बा, उच्च माध्यमिक परीक्षामा 91.1 प्रतिशत ल्याउने अनुज राई, मजुवा गुम्बाकाे लागि जमीनदान गर्ने रुपा लामा, मजुवा प्राइमेरी स्कूलको लागि जमीन दान गर्ने प्रकाश बम्जन अनि मधुराम थापा, मजुवा सार्वजनिक भवनको लागि जमीन दान गर्ने प्रेमकुमारी लामा, सचिन गुरुङ, धनमाया तामाङ अनि अजय राई र मन्जय राई, गुम्बा सम्हालेर बसेका साथै सबैलाई धर्मकाे बाटो देखाउने लामा सोनामलाई प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरुका बाहुलीबाट सम्बर्द्धना जनाइयो।
यसका साथै सम्पूर्ण मजुवा ग्रामवासीकाे तर्फबाट मजुवा सार्वजनिक भवनको लागि क्षेत्रीय सभासद श्याम शेर्पालाई पनि सम्बर्द्धना जनाइयो। कार्यक्रममा रंगारग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
हिन्दुस्थान समाचार / हनोक