खरसाङ स्टेडियम निर्माण समिति र जीटीए प्रमुखमाझ सभा सम्पन्न
Anit thapa


खरसाङ, 12 जनवरी (हि.स.)। खरसाङमा स्टेडियम निर्माण विषयलाई लिएर सोमवार खरसाङ स्टेडियम निर्माण समितिका पदाधिकारी तथा सदस्यहरू र जीटीए प्रमुख अनित थापाबीच महत्वपूर्ण सभा सम्पन्न भएको छ।‌ उक्त सभा खरसाङको टुरिस्ट लजमा सम्पन्न भयो।

समिति अध्यक्ष छिरिङ खाईबाको अध्यक्षतामा सम्पन्न उक्त सभामा खरसाङ स्टेडियम निर्माण समितिका सचिव सुदिप राई तथा अन्य सदस्यहरूले जीटीए प्रमुख अनित थापा लाई एक ज्ञापन पत्र बुझाए। सभामा अध्यक्ष छिरिङ खाईबाले खरसाङमा स्टेडियमको आवश्यकता र यसको महत्वबारे जानकारी गराएका थिए। यसैगरी डाक्टर आशा मुखिया लामाले स्टेडियम निर्माणसँगै अडिटोरियम निर्माण पनि अत्यन्त आवश्यक रहेको बताइन्।

खरसाङमा स्टेडियमको माग 50 वर्षभन्दा पुरानो रहेको जानकारी दिँदै सन् 1976 मै स्टेडियम निर्माणका लागि गरिएको पत्राचार सम्बन्धी दस्तावेजहरू अञ्जय छेत्री र ओम प्रकाश चौरासियाले जीटीए प्रमुख अनित थापा समक्ष सार्वजनिक गरेका थिए।

सभामा जीटीए प्रमुख अनित थापाले खरसाङमा स्टेडियम निर्माणप्रति सकारात्मक धारणा राख्दै मन्टिभियट चिया बगान क्षेत्रमा उपयुक्त स्थान उपलब्ध हुने सम्भावना जाहेर गरे।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande