
खरसाङ, 12 जनवरी (हि.स.)। खरसाङ महकुमा अन्तर्गत अम्बटे चियाबारी क्षेत्रमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको बूथ गठन कार्यक्रम सम्पन्न भएको छ।खरसाङ महकुमा अन्तर्गत पर्ने अम्बटे क्षेत्रको बसेरी गाउँमा आज पार्टीको बूथ गठन कार्यक्रम सम्पन्न भयो।
पार्टीका सदस्य मणिकुमार प्रधानको सक्रिय पहल तथा नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा 26 परिवार औपचारिक रूपमा पार्टीमा सामेल भएको दावी गरिएको छ। नयाँ परिवारहरूलाई पार्टीको नीति, सिद्धान्त र उद्देश्यबारे जानकारी गराउँदै पार्टीमा सम्मानका साथ स्वागत गरिएको बताइएको छ।
उक्त कार्यक्रममा खरसाङ इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रवक्ता तथा केन्द्रिय सदस्य सदस्य आर.के. शर्मा, केन्द्रिय सदस्य साथै चिम्नी देवराली ग्राम पञ्चायतका पञ्चायत प्रधान बिमल तामाङ र खरसाङ नगरपालिका क्षेत्रका को–अर्डिनेटर अभिनन्दन रावतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले अम्बटे क्षेत्र लामो समयदेखि विकास र परिवर्तनको अपेक्षामा रहेको उल्लेख गर्दै आजको यो बूथ गठन कार्यक्रम अम्बटे क्षेत्रको राजनीतिक चेतना र समग्र परिवर्तनतर्फको एक ठोस तथा ऐतिहासिक कदम भएको बताए।
जनताको हक–अधिकार, विकास, सुशासन तथा गोर्खा जातिको पहिचान र सम्मानका लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट निरन्तर संघर्षरत रहने प्रतिबद्धता पनि व्यक्त गरियो। स्थानीय बासिन्दाहरूले पनि पार्टीप्रति भरोसा व्यक्त गर्दै आउँदो दिनहरूमा अम्बटे क्षेत्रको विकास, युवाको सशक्तिकरण र जनसमस्याको समाधानका लागि पार्टीसँग हातेमालो गर्दै अघि बढ्ने अठोट व्यक्त गरेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक