पूर्वी नेपालको बाहुन्डागीमा चौथो अन्तरराष्ट्रिय तरुल उत्सव हुने
Yam festival


खरसाङ, 12 जनवरी (हि.स.)। पूर्वी नेपालको मेचीनगर नगरपालिका वार्ड नम्बर ४ बाहुन्डागी बजारमा आगामी 14 र 15 जनवरीमा

चौथो अन्तरराष्ट्रिय तरुल उत्सव भव्य रूपमा आयोजना हुने भएको छ। यो उत्सव कृषि, संरक्षण, संस्कृति र पर्यटनलाई एउटै सूत्रमा बाँध्दै अन्तरसीमा सहकार्य र आत्मनिर्भर ग्रामीण विकासको सशक्त सन्देश बोकेको कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ।

चौथो अन्तरराष्ट्रिय तरुल महोत्सव विषयमा भारत र नेपालका पत्रकारहरुको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले यस वर्षको तरुल उत्सवको प्रमुख विशेषता भनेको नेपालका सातै प्रदेशको सहभागितालगायत भारत र भुटानबाट पनि स्टलसहित पर्यटनकर्मी, संरक्षणवादी, कृषि विज्ञ र सांस्कृतिक टोलीहरूको उपस्थिति रहने जानकारी गराए। यसले बाहुन्डागीलाई अन्तरसीमा पर्यटन र सांस्कृतिक आदान–प्रदानको जीवन्त केन्द्रका रूपमा स्थापित गर्ने विश्वास आयोजक समितिले लिएको छ।

यस उत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ। सांस्कृतिक प्रस्तुतिका सन्दर्भमा दार्जिलिङबाट चर्चित लोकगायिका डेजी बराइली र संगीतकर्मी चन्दन लम्जेल, कुचबिहारबाट लोकगायक राजिवजीको टोली, “झम्के गुलेली” जस्तो चर्चित लोकगीतमार्फत् लोकप्रियता कमाएका सांस्कृतिक विज्ञ तथा लोकगायक कमलीकान्त भेटवाल, रेडियो नेपालका निर्देशक तथा चर्चित गीत–संगीतकार डा. टिका भण्डारी तथा भारत–नेपाल सिने जगतका स्थापित अभिनेता एवं प्रखर उद्घोषक सिद्धार्थ सिंह

जस्ता विशिष्ट व्यक्तित्वहरूको बेजोड प्रस्तुति रहने भएको छ।

उत्सव अवधिभर लोकनृत्य प्रतियोगिता, मानव–हात्ती द्वन्द्व न्यूनीकरण विषयमा विज्ञ बहस,

अन्तरसीमा पर्यटन र जैविक कृषि प्रणालीसम्बन्धी संवाद,

जातीय संस्कार, संस्कृति र भेषभूषाको प्रस्तुति,

लोकमौलिक हस्तकला, ललितकला, साहित्य,

तथा रोग लाग्दा उपयोगी, रहरलाग्दा र पृथक् रैथाने उत्पादनहरूका स्टलहरू रहनेछन्।

यसै अवसरमा अर्को महत्वपूर्ण उपलब्धि स्वरूप‌ सिक्किमको “Discover Temi” संस्था र चौथो अन्तरराष्ट्रिय तरुल उत्सव आयोजक समितिबीच

कृषि, संस्कृति, पर्यटन तथा सहकार्यका विविध विषयमा तीन वर्षे पर्यटन समझदारी हुने जानकारी गराइएको छ। यो सम्झौताले नेपाल–भारतबीचको ग्रामीण पर्यटन सहकार्यलाई दीर्घकालीन रूपमा मजबुत बनाउने अपेक्षा गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande