महाराष्ट्रका नगर निगम चुनाउमा भाजपा नम्बर वन पार्टी
भारतीय जनता पार्टी


मुम्बई, 17 जनवरी (हि.स.)। महाराष्ट्रका २९ वटा नगर निगममा सम्पन्न चुनाउमा भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो पार्टीका रूपमा उदाएको छ। कुल २,८६९ पार्षदमध्ये भाजपा एक्लैले १,४४१ पार्षद जित्न सफल भएको छ। मुख्यमन्त्री देवेन्द्र फडणवीस र प्रदेश भाजपा अध्यक्ष रविन्द्र चव्हाणले विजयी भाजपा पार्षदहरूलाई बधाई दिएका छन्।

शुक्रबार मतगणनापछि राज्य निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार, शिन्दे समूहको शिवसेनाका ४०८ पार्षद निर्वाचित भएका छन्, जसका कारण शिवसेना (शिन्दे समूह) दोस्रो ठूलो पार्टी बनेको छ। कांग्रेसका ३१७ पार्षद निर्वाचित भई तेस्रो स्थानमा रहेको छ।

त्यसैगरी राष्ट्रवादी कांग्रेस पार्टी (अजित पवार समूह) का १६४ पार्षद, उद्धव ठाकरेको शिवसेना (यूबीटी) का १५४ पार्षद, एमआईएमका १२५ पार्षद, राकांपा (एसपी) का ३६ पार्षद, मनसेका १३ पार्षद तथा २२१ स्वतन्त्र पार्षद निर्वाचित भएका छन्।

राज्य निर्वाचन आयोगका तथ्यांकअनुसार, भाजपा आफ्नै बलमा १३ नगर निगममा मेयर बनाउने अवस्थामा पुगेको छ भने करिब १२ नगर निगममा सत्ता साझेदारका रूपमा सहभागी हुने सम्भावना छ।

प्रदेश भाजपा अध्यक्ष रविन्द्र चव्हाणले सबै विजयी नगरसेवकहरूलाई जीतको शुभकामना दिँदै भने, “नगर निगम चुनाउमा प्राप्त भएको यो ठूलो जित स्वच्छ प्रशासन र विकासको आधारमा हो। त्यसैले भाजपा टिकटबाट निर्वाचित पार्षदहरूले विकास र स्वच्छ प्रशासनलाई प्राथमिकता दिनेछन्।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande