
कोलकाता, 17 जनवरी (हि.स.)। निपाह भाइरस संक्रमणका घटनालाई ध्यानमा राख्दै पश्चिम बंगाल राज्य सरकारले सावधानीका रूपमा नयाँ र विस्तृत स्वास्थ्य गाइडलाइन जारी गरेको छ। यद्यपि हालको अवस्था नियन्त्रणमा रहेको बताइएको छ।
निपाह संक्रमणको रोकथाम र उपचार व्यवस्थालाई थप सुदृढ़ बनाउने उद्देश्यले राज्य स्वास्थ्य विभागद्वारा जारी ताजा गाइडलाइनमा संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई जोखिमका आधारमा वर्गीकरण, क्वारेन्टिन, केमो–प्रोफिल्याक्सिस, परीक्षण तथा उपचारको स्पष्ट रूपरेखा तय गरिएको छ।
गाइडलाइनअनुसार, संक्रमित वा शंकास्पद बिरामीको रगत, लार, थुक, बान्ता, पिसाब वा श्वसन स्रावजस्ता शारीरिक द्रवसँग सम्पर्कमा आएका वा १२ घण्टाभन्दा बढी समय बन्द स्थानमा नजिकको सम्पर्कमा रहेका व्यक्तिलाई ‘उच्च जोखिम (हाइ रिस्क)’ श्रेणीमा राखिनेछ। यस्ता लक्षणरहित सम्पर्कमा आएका व्यक्तिहरूका लागि २१ दिनको होम क्वारेन्टिन अनिवार्य गरिएको छ र दैनिक स्वास्थ्य निगरानी गरिनेछ।
यदि यस अवधिमा ज्वरो, टाउको दुखाई, बान्ता, सास फेर्न गाह्रो, दौरा वा मानसिक अवस्थामा परिवर्तनजस्ता लक्षण देखिएमा तत्काल अस्पतालको निर्धारित आइसोलेशन युनिटमा भर्ना गरी निपाह आरटी–पीसीआर परीक्षण गराइनेछ।
त्यसैगरी, बिरामीका कपडा, ओछ्यान, चादर वा अन्य सामग्री (फोमाइट्स) को सम्पर्कमा आएका व्यक्तिलाई ‘कम जोखिम (लो रिस्क)’ श्रेणीमा राखिनेछ। यस्ता व्यक्तिहरूलाई २१ दिनसम्म निगरानीमा राखिनेछ र लक्षण देखिएमा तुरुन्त आइसोलेशन र परीक्षण गरिनेछ।
गाइडलाइनमा उच्च जोखिम सम्पर्कमा आएका व्यक्तिहरू तथा पर्याप्त व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) बिना बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूका लागि केमो–प्रोफिल्याक्सिसबारे विचार गर्न उल्लेख गरिएको छ। यसअन्तर्गत राइबाविरिन वा फेविपिराविरजस्ता एन्टिभाइरल औषधि प्रयोग गर्न सकिनेछ।
आरटी–पीसीआर पोजिटिभ र लक्षणयुक्त निपाह बिरामीका लागि तुरुन्त एन्टिभाइरल उपचार शुरु गर्न निर्देशन दिइएको छ। उपचार प्रोटोकलमा रेमडेसिविरसँग राइबाविरिन वा फेविपिराविर तथा आवश्यक परे मोनोक्लोनल एन्टिबडी प्रयोग गर्ने व्यवस्था गरिएको छ। गम्भीर बिरामीको उपचारमा न्युरोलोजिस्ट र क्रिटिकल केयर विशेषज्ञहरूको बहुविषयक टोलीद्वारा सपोर्टिभ केयरमा जोड दिइएको छ।
यसैबीच, निपाह संक्रमित दुई नर्सको अवस्था हाल स्थिर रहेको बताइएको छ। दुवै बारासातस्थित एक निजी अस्पतालको आईसीयूमा उपचाररत छन्।
पूर्व मेदिनीपुरको मयना निवासी ब्रदर–नर्सलाई बिहिबार भेन्टिलेटरबाट हटाइएको छ र उनी अहिले होसमा छन्। उता, पूर्व बर्दवानको कटवा निवासी सिस्टर–नर्स अझै कोमामै रहेकी छन्। चिकित्सकहरूका अनुसार, उनले हात–खुट्टा हल्लाउने र आँखा खोल्ने प्रयास गरेकी छन्, जसलाई सकारात्मक संकेत मानिएको छ।
स्वास्थ्य विभागका अनुसार, संक्रमित दुवै नर्सको सम्पर्कमा आएका कुल १७१ जनाको नमूना परीक्षणका लागि पठाइएको थियो, जसमध्ये हालसम्म १६५ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य विभागका एक अधिकारीले शनिबार स्पष्ट पारेका छन्, बिरामीको प्रत्येक पाँच दिनमा आरटी–पीसीआर परीक्षण गरिनेछ। अन्य कुनै चिकित्सकीय जटिलता नदेखिएमा २४ घण्टाको अन्तरालमा लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्र बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी