
गान्तोक, 27 जनवरी (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा आज सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को प्रतिनिधित्व गर्दै राष्ट्रिय राजधानीमा आयोजित सर्वदलीय बैठकमा सहभागी बने। रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको बैठकमा संसदीय मामिला मन्त्री किरेन रिजिजु, केन्द्रिय मन्त्रीहरू जेपी नड्डा, अर्जुनराम मेघवाल र एल. मुरुगन आदि उपस्थित थिए।
बैठकमा सांसद सुब्बाले जलवायु परिवर्तन हिमालय र हिमनदी पारिस्थितिक प्रणालीमा यसको गम्भीर प्रभावको महत्वपूर्ण मुद्दा उठाए, जसमा पिउने पानीको अभाव र अचानक बढ्दो बाढीका घटना समावेश थिए। उनले संसदमा जलवायु परिवर्तनको बारेमा विशेष छलफलको लागि जोडदार माग गरे। सांसदले क्षेत्र-विशिष्ट चुनौतीहरूमा छलफल गर्न तथा नीति र योजनाहरूमा आवश्यक परिवर्तनहरू सिफारिस गर्न हिमालय क्षेत्रका संसद सदस्यहरू सम्मिलित स्थायी समिति गठनको प्रस्ताव पनि गरे।
सांसद सुब्बाले बजेट अधिवेशनलाई ध्यानमा राख्दै सुब्बाले अध्यक्ष र संसदीय मामिला मन्त्रीलाई आदिवासी मामिला, अल्पसंख्यक मामिला र उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालयसँग सम्बन्धित मन्त्रालयहरूको अनुदानको मागमा छलफलको लागि व्यवस्था गरिनुपर्छ सुझाउ राखे ताकि मुद्दाहरू र प्राथमिकताहरू विस्तृत रूपमा छलफल गर्न सकियोस्। उनले यदि विकसित भारतको दृष्टिकोणलाई साकार पार्नु हो भने आदिवासी र अल्पसंख्यक समुदायहरूको कल्याण अत्यन्त महत्त्वपूर्ण छ भनी बताए।
यसैगरी, सांसद सुब्बाले सिक्किम विधानसभामा लिम्बू-तामाङ सीटको आरक्षणको लामो समयदेखि विचाराधीन मुद्दाको बारेमा सदनलाई अवगत गराए र केन्द्र सरकारलाई तत्काल कारबाही गर्न आग्रह गरे। उनले अनुसूचित जनजाति सूचीमा छुटेका १२ समुदायहरूलाई समावेश गर्ने राज्य सरकारको मागलाई पनि प्रकाश पारे। उनले यी समुदायहरूलाई बाहिर राखिनु ऐतिहासिक गल्ती ठहर गर्दै सिक्किममा समानता र न्याय सुनिश्चित गर्न तत्काल समाधान आवश्यक रहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल