
गान्तोक, 27 जनवरी (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको सिक्किम प्रान्तले आफ्नो स्थापनाको रजत जयन्ती वर्ष पालन गरिरहेको छ। विद्या भारती सिक्किमले आफ्नो रजत जयन्ती वर्षको समापन समारोह आगामी मार्च महिनामा भव्यरूपमा आयोजना गर्ने निधो गरेको छ। यस समारोहलाई सफल तुल्याउन विद्या भारती सिक्किमले आफ्नो कसरत शुरू गरिसकेको छ। यस क्रममा आज रानीपुलस्थित सरस्वती विद्या निकेतनमा एक समन्वय बैठक सम्पन्न भयो।
समन्वय बैठकपछि विद्या भारती सिक्किमका सल्लाहकार तथा रजत जयन्ती समारोह समितिका अध्यक्ष हरि शंकर शर्माले आफ्नो स्थापनाको रजत जयन्ती वर्षको समापन समारोह संस्थाले आगामी मार्च महिनामा भव्य कार्यक्रमका साथमा गर्ने बताए। विद्या भारती सिक्किमले आफ्नो रजत जयन्ती वर्षका साथै विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको कौस्तुभ जयन्ती, राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्ष, वन्दे भारतको 150औं वर्षगॉंठ र सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठलाई पनि समावेश गरेर एकसाथ मनाउनले निधो गरेको जानकारी गराए। उनले राज्यसभा सांसद एवं समारोह समितिका प्रमुख सल्लाहकार डीटी लेप्चाको मार्गदर्शनमा संस्थाले समारोहलाई भव्य अनि समावेशी बनाउन प्रयासरत रहेको बताए।
यसरी नै महासचिव विजय कुमार धितालले राज्यमा गुणात्मक र संस्कारित शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विद्या भारती सिक्किमले 14 फरवरी, 1997 सालदेखि आफ्नो सेवा शुरू गरेको जानकारी गराए। यद्यपि, संस्थाको पञ्जीकरण 2000 सालमा भएकाले यसपाली रजत जयन्ती समारोह मनाइरहेको उनले बताए। विद्या भारतीले आज देशव्यापी रूपमा 25 हजार विद्यालय सञ्चालन गरिरहेको र सिक्किम अनि दार्जिलिङ गरी 17 वर्ष विद्यालय सञ्चालन भइरहेको उनले अवगत गराए। उनले रजत जयन्ती समारोह 27 मार्च, 2026 मा गर्ने अहिले अस्थायी मिति तय गरिएको र यसमा फेरबदल गर्नु परेको खण्डमा आगामी दिनहरूमा सूचित गर्ने बताए।
यस अघि संयोजक मोहन शर्माले रजत जयन्ती समारोहलाई लिएर आयोजक समितिले विभिन्न उप समितिहरू गठन भइसकेको जानकारी गराए। समारोहमा विशिष्ट व्यक्तित्वहरू, भूतपूर्व सैनिकहरू, पूर्व विद्यार्थीहरू लगायत अन्यहरूलाई सम्मानित गर्ने कार्यक्रम पनि रहेको उनले बताए। विद्या भारती सिक्किमले आफ्नो 25 वर्षको यात्रा अवधि सिक्किम र दार्जिलिङमा 17 वटा विद्यालय स्थापना गरेर गुणात्मक र संस्कारित शिक्षा प्रदान गरिरहेको बताए। उनले अझै पनि धेरै यस्ता गाउॅंहरू रहेको बताए जहॉं विद्या भारतीले आफ्नो पहुॅंच विस्तार गर्ने प्रयास गरिरहेको छ। यस क्रममा अहिले संस्कार केन्द्रहरूको माध्यमद्वारा पनि यस्ता ठाउॅंहरूमा शिशुहरूलाई शिक्षा प्रदान गर्ने पहल चलिरहेको उनले बताए। संस्थाले यस्ता 30 वटा संस्कार केन्द्र स्थापना गर्ने लक्ष्य राखेको पनि उनले बताए।
हिन्दुस्थान समाचार / बिशाल