स्वास्थ्य मन्त्री ढुङ्गेलले एसटीएनएम अस्पतालमा वाटर एटीएम उद्घाटन गरे
स्वास्थ्य मन्त्री ढुङ्गेलले एसटीएनएम अस्पतालमा वाटर एटीएम उद्घाटन गरे


गान्तोक, 05 जनवरी (हि.स.)। सिक्किम सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभाग मन्त्री जीटी ढुङ्गेलले आज राजधानीको सोच्यागाङस्थित एसटीएनएम अस्पतालमा वाटर एटीएमको उद्घाटन गरे। यस वाटर एटीएमले तातो र चिसो दुवै शुद्ध पिउने पानी वितरण गर्दछ। यस अवसरमा गान्तोक जिल्लाका जिल्लापाल तुषार जी. निखारे, एसटीएनएम अस्पतालकी चिकित्सा अधीक्षक डा. रुथ योञ्जन लगायत अन्यहरू पनि उपस्थित थिए।

यो सुविधा गान्तोक जिल्ला प्रशासनले टोरेन्ट फार्मा कम्पनीको सहयोगमा एसटीएनएम अस्पताल परिसरमा उपलब्ध गराएको हो। यसको उद्देश्य राज्यको प्रमुख रेफरल अस्पतालमा बिरामीहरू, परिचारिकाहरू र स्वास्थ्यकर्मीहरूको लागि सुरक्षित र स्वच्छ पिउने पानीमा सहज पहुँच सुनिश्चित गर्नु रहेको बताइएको छ।

स्वास्थ्य मन्त्री ढुङ्गेलले वाटर एटीएम जडान गर्न सहयोगको लागि टोरेन्ट फार्मा कम्पनीलाई धन्यवाद दिए भने गान्तोकका जिल्लापाल र उनको टोलीको प्रयासको सराहना गरे। यसैगरी, उनले एसटीएनएम अस्पतालकी चिकित्सा अध्यक्ष र उनको टीमलाई पनि सहकार्यको लागि धन्यवाद दिए।

मन्त्रीले सुविधाको उचित देखभाल सुनिश्चित गर्न आग्रह गर्दै शुद्ध पिउने पानी कम्ति मूल्यमा प्रदान गरिएको बताए। उनले गुणस्तर र सुरक्षा सुनिश्चित गर्न पानीलाई यूवी-आधारित शुद्धीकरण प्रक्रिया मार्फत फिल्टर गरिएको पनि जानकारी गराए।

उनले देशभरि पानी प्रदूषण बढ्दो चिन्ताको विषय बनेको बेला जनतालाई शुद्ध पिउने पानी उपलब्ध गराउनु यस पहलको प्रमुख उद्देश्य रहेको बताए। उनले दीर्घकालीन पानी उपलब्धता चुनौतीहरूलाई सम्बोधन गर्न एसटीएनएम अस्पतालमा पानी संकलन संरचना निर्माण गरिने थप जानकारी गराए।

यसैगरी, जिल्लापाल निखारेले वाटर एटीएम जडान गर्न सहयोगका लागि टोरेन्ट फार्मा कम्पनी र अस्पतालकी चिकित्सा अधीक्षकलाई धन्यवाद दिए। उनले गान्तोकमा यो दोस्रो वाटर एटीएम रहेको जानकारी गराउॅंदै प्रयोगकर्ताहरूबाट सङ्कलन गरिने रकम सुविधाको मर्मतसम्भारको लागि मात्र रहेको स्पष्ट पारे।

एसटीएनएम अस्पतालमा वाटर एटीएमको स्थापनाले सुरक्षित पिउने पानीको भरपर्दो आपूर्ति सुनिश्चित गर्ने, एकल-प्रयोग प्लास्टिक बोतलहरूमा निर्भरता कम गर्ने र अस्पताल परिसरभित्र पर्यावरणीय रूपमा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande