सभासद श्याम शेर्पाले गिद्ध पहाड़स्थित सुस्वास्थ्य केन्द्रको भ्रमण गरे
अस्पताल भ्रमण


खरसाङ, 08 जनवरी (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायतको गिद्ध पहाड़स्थित गिद्ध पहाड़ सुस्वास्थ्य केन्द्रको आज जीटीएको स्वास्थ्य एवं परिवार कल्याण विभागका एमओडी सभासद श्याम शेर्पाले भ्रमण गरेका छन्। उनको साथमा घैयाबारी एक ग्राम पञ्चायतका उप प्रधान आशिष छेत्री, खरसाङ इन्जिनियरिङ विभागका एई नारायण छेत्री पनि सामेल थिए।

भ्रमणका क्रममा सेन्टरकी कमिटी हेल्थ अफिसर फुर्दीकी शेर्पाले सभासदलाई उक्त स्वास्थ्य केन्द्रबारे सम्पूर्ण जानकारी गराइन्। उनले उक्त केन्द्रबाट जनताले स्वास्थ्य विषयमा पाउने सुविधाहरु साथै स्वास्थ्य केन्द्रका समस्याहरुबारे पनि जानकारी गराइन्। उनले विशेषगरी स्वास्थ्य केन्द्र मुख्य सड़कदेखि 20-25 मिटर मुनि रहेको र बाटोमा रेलिङ्ग नभएकाले बिरामीहरु र गर्भवती स्त्रीहरुलाई केन्द्रमा आउन समस्या भइरहेको बताउंदै रेलिङ्ग बनाइदिने निवेदन गरिन्।

सभासद श्याम शेर्पाले गिद्ध पहाड सुस्वास्थ केन्द्र जाने बाटोमा रेलिङ्ग नभएकाले जुन असुविधा भइरहेको छ, यसबारे आज खरसाङ इन्जिनियरिङ विभागका इन्जिनियरद्वारा नापजोख गरिएको बताए। उनले यस विषयमा जीटीए प्रमुखलाई जानकारी गराउने अनि समाधान निकाल्ने बताए। सभासदले जनतालाई सुस्वास्थ्य केन्द्रबाट सहयोग भइरहेको र यस केन्द्रको समस्या अवश्य नै समाधान गरिदिने आश्वासन दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande