
जलपाईगुड़ी, 9 जनवरी (हि.स)। राजगञ्ज ब्लकके शिकारपुर ग्राम पञ्चायतमा बँदेलको हमलामा परी ज्यान गुमाएका रतिया उराँव (48)-का परिवारसित भेट गर्न स्थानीय तृणमूल विधायक खगेश्वर राय शुक्रवार मृतकको घरमा पुगे। उनीसित राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार, ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी, रणबीर मजुमदार सहित अन्य स्थानीय नेताहरू पनि उपस्थित थिए। सबले शोकाकुल परिवारसित भेट गरी संवेदना व्यक्त गरे।
स्थानीय सूत्र अनुसार बिहीवार अबेर साँझ रतिया उराँव घर नजिकै अवस्थित चिया बगानमा काम गरेपछि रूखमुनि बसेर विश्राम गरिरहेकी थिइन्। यतिकैमा अचानक एउटा बँदेलले तिनीमाथि हमला गऱ्यो। हमलापछि तिनी गम्भीर रूपमा घाइते भएर मुर्छा परिन्। यसै अवधि अन्य दुई जना मानिसहरूमाथि पनि बँदेलले हमला गऱ्यो जसमा बाबलू उराँव र मदन माझी सामेल छन्। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा रतिया उराँवलाई तुरून्तै जलपाईगुड़ी सुपर स्पेशियलिटी अस्पतालमा लगियो जहाँ ड्यूटीमा तैनाथ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। ग्रामीणहरूले वन विभागसित अतिरिक्त गस्ती तथा सुरक्षा व्यवस्था गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा