
गान्तोक, 0१ अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राष्ट्रपिता महात्मा गान्धी जयन्ती तथा भारतका पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको जयन्तीको अवसरमा समस्त सिक्किमवासीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आफ्नो सन्देशमा महात्मा गान्धीको स्मरण गर्दै उनको जीवन र विचारले सत्य, अहिंसा तथा शान्तिका शाश्वत आदर्श अपनाउन प्रेरणा दिने बताएका छन्। उनले न्याय, सद्भाव, करुणा तथा समानताका मूल्यमा आधारित समाज निर्माण गान्धीजीको सपना रहेको उल्लेख गरेका छन्।
यस पावन अवसरमा राज्यपालले सबै प्रदेशवासीलाई गान्धीजीले देखाएको सत्य र अहिंसाको मार्गमा हिँड्दै राष्ट्रको प्रगति, पर्यावरण संरक्षण तथा सामाजिक सद्भाव सुदृढीकरणमा योगदान गर्न आह्वान गरेका छन्।
राज्यपालले भारतका पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको जयन्तीलाई पनि स्मरण गर्दै उनको सरलता, कर्तव्यनिष्ठा, देशभक्ति तथा दृढ नेतृत्वको विरासतले आज पनि राष्ट्रको सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै विकासको बाटोमा निरन्तर अघि बढ्न प्रेरणा दिने बताए। उनले यस अवसरमा सबै मिलेर स्वच्छ, समृद्ध, सशक्त तथा आत्मनिर्भर भारत निर्माणको संकल्प लिन तथा सिक्किमको दिगो र समग्र विकासमा सक्रिय सहभागिता सुनिश्चित गर्न आह्वान गरेका छन्।
उनले गान्धीजीका सत्य, अहिंसा तथा स्वच्छताका आदर्श र शास्त्रीजीका सरलता, कर्तव्य तथा राष्ट्रसेवाका मूल्यलाई जीवनमा आत्मसात् गर्दै सशक्त राष्ट्र निर्माणमा योगदान गर्नुपर्नेमा जोड दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल