
कुचबिहार, 10 अक्टोबर (हि.स.)। दुर्गा पूजाको अवसरमा पर्यटन प्रवर्द्धनको उद्देश्य उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) द्वारा शुरु गरिएको महालय स्पेशल टूर योजनाले सफलता प्राप्त गर्न सकेन। महालयको लागि एउटै पनि टिकट बिक्री नभएको कारणले निगमले यो विशेष सेवालाई रद्द गर्नुपरेको हो।
निगमको योजना अनुसार 10-देखि 26 अक्टोबरसम्म कुचबिहारदेखि राजाभातखावा, जयन्ती र चिलापातासम्मको लागि 41 सीटयुक्त विशेष बसलाई सञ्चालन गर्ने तय गरिएको थियो। यस यात्रामा पर्यटकहरूको लागि सङ्गीत र विशेष खानापानको व्यवस्था पनि गरिएको थियो। टिकटको मूल्य 500 देखि 550 रुपियाँसम्म रहेको थियो।
शुक्रवार महालयको विशेष यात्राको लागि टिकट बुकिङ्ग गर्ने अन्तिम तिथि थियो। तथापि एउटै पनि टिकट बिक्री भएन। अन्य दिनको लागि पनि चार-पाँच वटा टिकट मात्र बुक भएको जानकारी प्राप्त भएको छ।
एनबीएसटीसीको कुचबिहार डिपोका प्रभारी प्रीतम देले बताए, टिकट बिक्री नभएको कारणले महालय कार्यक्रम रद्द गरिएको छ। निगमका प्रबन्ध निर्देशक अश्विनी कुमार रायले पनि स्वीकार गरे, सबै प्रयास गरिएको भए पनि टिकटहरूको बुकिङ्ग भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा