
खरसाङ, 13 अक्टोबर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीको चिलाउनेधुरामा अवस्थित श्री तीन कन्या देवी मन्दिरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि त्रि दिवसीय पूजा अनुष्ठान आरम्भ भएको छ। मङ्गलवार अनुष्ठानको प्रथम दिन कलश यात्रा निकालियो, जहाँ स्थानीय श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो।
उक्त कलश यात्राले गाउँ परिक्रमा गरेर मन्दिरमा आइपुगेपछि कलशहरूलाई स्थापित गरियो। त्यसपछि अनुष्ठानको प्रथम दिनको पूजा अर्चना गरियो।
पूजा अनुष्ठानबारे जानकारी गराउँदै अनुष्ठानका मुख्य कर्ता एवम् मन्दिर सञ्चालन समितिका मुख्य प्रतिनिधि राजु प्रधानले यस मन्दिरमा सयौं वर्षअघिदेखि पूजा अर्चना गरिँदै आएको जनाए। यहाँको आस्था र विश्वासको प्रतीकको रूपमा वर्षौँदेखि मान्दै आएको यस मन्दिरमा गत छ वर्षअघिदेखि भने कलश यात्रा सहित भव्यताका पूजा अनुष्ठान गर्दै आइरहेको जनाए। उनले तीन दिवसीय यस पूजा अनुष्ठानमा सबै श्रद्धालु भक्तजनहरूलाई उपस्थित रहेर माताको आर्शिवाद ग्रहण गर्ने आग्रह गरेका छन्।
अनुष्ठानका मुख्य पुरोहित हरि खनालले आजदेखि शुरु भइरहेको पूजा अनुष्ठानको महत्त्व र गरिमाबारे जानकारी गराए। उनले सबै भक्तजनहरूलाई माताको आर्शिवाद र अनुग्रह प्राप्त गर्न उपस्थित भइदिने निवेदन गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक