
काठमाडौँ, २२ अक्टोबर (हि.स.)। नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफीकुर रहमानले दुर्गापूजाको अवसरमा काठमाडौँस्थित विभिन्न पूजा पण्डालमा पुगेर पूजाअर्चना गर्नुका साथै आरतीमा सहभागिता जनाएका छन्। यसका साथै उनले गोरखास्थित मनकामना मन्दिर र काली मन्दिरको समेत भ्रमण गरेका छन्।
मन्दिर भ्रमणका क्रममा उनले पूजा समितिका सदस्य तथा मन्दिरका पुजारीहरूसँग दुर्गापूजाको शुभकामना आदानप्रदान गर्दै विभिन्न विषयमा कुराकानी गरेका थिए। यस अवसरमा उनले नेपालको समृद्ध सांस्कृतिक तथा धार्मिक विरासतबारे जानकारी लिएका थिए।
राजदूत रहमान काठमाडौँमा आयोजित दुर्गापूजा समारोहमा समेत सहभागी भएका थिए। नेपालको विशिष्ट सांस्कृतिक तथा धार्मिक परम्परालाई नजिकबाट अनुभव गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले दुर्गापूजामा सहभागी हुनु आफ्ना लागि सुखद र ज्ञानवर्धक अनुभव भएको बताए।
यस अवसरमा शुभकामना सन्देश दिँदै राजदूत रहमानले सम्पूर्ण नेपाली नागरिकको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
दुर्गापूजालाई भारतीय उपमहाद्वीपको साझा सांस्कृतिक विरासतको संज्ञा दिँदै उनले यस पर्वले धार्मिक सद्भाव, सहअस्तित्व, एकता र आपसी भाइचाराको भावना प्रतिबिम्बित गर्ने बताए। उनका अनुसार, दुर्गापूजाले विभिन्न धर्म र आस्थाबीचका भिन्नताभन्दा माथि उठेर पारस्परिक सम्मान, करुणा र सहानुभूतिको भावनालाई प्रोत्साहन गर्छ।
राजदूत मोहम्मद शफीकुर रहमानले नेपाल र बङ्गलादेशलगायत यस क्षेत्रका समुदायहरूको संस्कृति तथा विरासतलाई शताब्दीयौँदेखि आपसी सहअस्तित्व र धार्मिक सहिष्णुताको भावनाले आकार दिँदै आएको बताए।
उनले यस्तो साझा सांस्कृतिक विरासतले दुवै देशका जनताबीच मित्रता, सद्भाव र आपसी समझदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल