नेपालमा एक साताभन्दा बढी समय वर्षा हुने सम्भावना, किसान र यात्रुलाई सतर्क रहन आग्रह
नेपाल में बारिश का पूर्वानुमान


काठमाडौँ, २२ अक्टोबर (हि.स.)। नेपालका विभिन्न क्षेत्रमा आगामी सातादेखि वर्षा हुने सम्भावना रहेको छ। बङ्गालको खाडीमा विकसित निम्न चापको प्रभावका कारण वर्षा हुने अनुमान गरिएको हो।

मौसमविद् डा. विनोद पोखरेलका अनुसार, विभिन्न मौसम पूर्वानुमान नमुनाहरूले आगामी मङ्गलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने सङ्केत गरेका छन्। उनले चारवटा मौसम पूर्वानुमान नमुनाको औसत अनुमान समेटिएको चित्र सार्वजनिक गर्दै केही स्थानमा भारी वर्षासमेत हुन सक्ने बताएका छन्।

उनका अनुसार, विभिन्न पूर्वानुमान नमुनाले वर्षा हुने क्षेत्र र वर्षाको मात्राबारे फरक-फरक अनुमान गरेका छन्। त्यसैले कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषयमा अहिले नै निश्चित रूपमा भन्न कठिन छ। आगामी दिनमा मौसमको पूर्वानुमान परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको छ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उनले धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर योजना बनाउन सुझाउ दिएका छन्।

उनका अनुसार, आगामी साताको मङ्गलबारदेखि धान काट्ने योजना बनाएका किसानले सम्भव भएसम्म त्यसभन्दा अगावै धान काटेर सुरक्षित रूपमा घर भित्र्याउनु उचित हुनेछ। त्यसो गर्न सम्भव नभए वर्षा रोकिएपछि मात्र धान काट्ने तयारी गर्नुपर्नेछ। केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना रहेकाले किसानले थप सतर्कता अपनाउनुपर्ने उनले बताएका छन्।

त्यसैगरी, हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण जोखिम बढ्न सक्ने भएकाले यात्रा तथा पदयात्रामा निस्कनेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। यात्राको योजना बनाइरहेका व्यक्तिहरूले मौसमको नियमित पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा मात्र आफ्नो कार्यक्रम तय गर्नुपर्ने सुझाव दिइएको छ।

मौसमको पूर्वानुमान अझै परिवर्तन हुन सक्ने भएकाले किसान, यात्रु तथा सम्बन्धित क्षेत्रका बासिन्दालाई सम्भावित वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न मौसमसम्बन्धी पछिल्ला सूचनामा नियमित ध्यान दिन आग्रह गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande