
गान्तोक, 26 अक्टोबर (हि.स.)। विद्यार्थी कल्याण बोर्डले राज्य शिक्षा विभाग र टिमवर्क आर्ट्ससँगको सहकार्यमा सिक्किम कला तथा साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना गरिरहेको छ। उक्त महोत्सव आगामी २८ देखि ३० अक्टोबरसम्म राजधानीको रिज पार्क र ह्वाइट हलमा आयोजना हुनेछ।
यस तीन दिवसीय महोत्सवलाई लिएर आज रिज पार्कस्थित स्थानीय एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विधायक आदित्य गोलेले यस महोत्सवलाई सिक्किम सरकार अन्तर्गत समावेश गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरे। उनले महोत्सवको पहिलो संस्करण २०२३ मा युक्सममा आयोजना गरिएको जानकारी गराए।
उनले विशेषगरी विद्यार्थीहरू लगायत इच्छुक सर्वसाधारणलाई महोत्सवमा सहभागी हुन आग्रह गर्दै यसले बौद्धिक क्षितिज विस्तार गर्न, समग्र सिकाइलाई प्रोत्साहन गर्न तथा महोत्सवअन्तर्गत आयोजना गरिने कार्यशालाहरूमा सहभागी हुने अवसर प्रदान गर्ने बताए। उनले राज्यभरिका विद्यालय तथा विश्वविद्यालयका शिक्षकहरूलाई पनि आफ्ना विद्यार्थीहरूसहित महोत्सवमा सहभागी भई उनीहरूको सिकाइ अनुभवलाई समृद्ध बनाउन आह्वान गरे।
शिक्षा र सीप विकासमा केन्द्रित यस पहलको चर्चा गर्दै उनले महोत्सवलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिष्ठित कार्यक्रमका रूपमा स्थापित गर्न कार्यकारी समितिले सबैबाट सुझाउ तथा प्रतिक्रियाहरूलाई स्वागत गर्ने बताए।
विद्यार्थी कल्याण बोर्डका अध्यक्ष सोनाम छोपेलले बालबालिकाहरू कार्यशालामा सहभागी भइरहँदा अभिभावकहरूले विभिन्न विषयमा आयोजित छलफल सत्रहरूमा भाग लिन सक्ने बताए। उनले महोत्सवको उद्देश्य समग्र सिकाइलाई प्रवर्द्धन गर्नु र साहित्यको उत्सव मनाउनु रहेको उल्लेख गर्दै यसको प्रवर्द्धन तथा संरक्षणमा योगदान दिन सर्वसाधारणलाई आग्रह गरे।
संस्कृति विभागकी अध्यक्ष भीमकुमारी शर्माले महोत्सवमा आयोजना गरिने विविध गतिविधिहरूबारे जानकारी दिइन्। उनले सबै उमेर समूहका मानिसहरूलाई लक्षित गरी लेखन, चित्राङ्कन तथा कला र हस्तकलासम्बन्धी कार्यशालाहरू सञ्चालन गरिने बताइन्।
शिक्षा विभाग (विद्यालय शिक्षा) का सचिव टाशी छोपेलले तीनदिने महोत्सवमा प्रतिष्ठित लेखक, साहित्यकार तथा छलफलकर्ताहरूको सहभागिता रहने जानकारी दिए। महोत्सवमा साहित्य, इतिहास, वातावरण, स्वास्थ्य तथा स्वस्थ जीवनशैलीलगायत विविध विषयमा छलफल गरिने उनले बताए। उनले महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्यातिप्राप्त लेखक र कविहरू सहभागी हुने बताए।उनले विद्यालय तथा महाविद्यालयका विद्यार्थीहरूका साथै अन्य इच्छुक व्यक्तिहरूलाई पनि महोत्सवमा सहभागी हुन आग्रह गरे। यसले उनीहरूको ज्ञानको दायरा विस्तार गर्नुका साथै शैक्षिक संस्थाहरूमा सैद्धान्तिक रूपमा प्राप्त हुने सिकाइभन्दा बाहिरका विषयमा नयाँ दृष्टिकोण हासिल गर्न सहयोग पुग्ने उनले बताए।टिमवर्क आर्ट्सका उपाध्यक्ष सैयद शम्स जावेदले आफ्नो संक्षिप्त सम्बोधनमा महोत्सव सबै उमेर समूहका मानिसहरूका लागि खुल्ला रहेको बताए। उनले महोत्सवमा सहभागिताका लागि दर्ता अनिवार्य हुने जानकारी दिँदै सहभागी हुने विशिष्ट अतिथिहरूबारे पनि प्रकाश पारे।उनका अनुसार, महोत्सवमा विभिन्न सहभागितामूलक क्षेत्रहरू रहनेछन्। यसअन्तर्गत हरेक बिहान र साँझ सांगीतिक प्रस्तुति, पुस्तकमा लेखकको हस्ताक्षर लिने कार्यक्रम तथा पुस्तक पसलहरू सञ्चालन गरिनेछन्। उनले महोत्सवलाई सफल बनाउन र यसलाई वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिन सर्वसाधारणलाई सक्रिय सहभागिता जनाउन आग्रह गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल