
खड़गपुर, २७ अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन थाना क्षेत्र अन्तर्गत माटिबेरुआमा मङ्गलवार बिहान सबेरै पुलिसले धानको भुसले भरिएको १६ चक्के ट्रकबाट ३५ भन्दा बढ़ी गाईलाई तस्करहरूको चङ्गुलबाट मुक्त गराएको छ। ट्रकभित्र गोप्य तख्ता बनाएर गाईहरू लुकाएर लैजाने प्रयास भइरहेको थियो। पुलिसको कारबाहीले तस्करीको प्रयास विफल भएको छ।
पुलिस स्रोत अनुसार, ट्रक बाहिरबाट धानको भुसले भरिएको देखिन्थ्यो, तर त्यसको भित्री भागमा विशेष तरिकाले गोप्य तख्ताहरू बनाइएका थिए। ती तख्ता पछाड़ी गाईहरू लुकाएर राखिएका थिए। मङ्गलवार बिहान सबेरै बङ्गाल–ओडिशा सीमामा रहेको माटिबेरुआ नाकामा अभियान चलाउँदै दाँतन थानाको पुलिसले ट्रकको तलासी लिएको थियो। यस क्रममा गाईहरू लुकाएर लैजाँदै गरेको घटना सार्वजनिक भएको हो।
कारबाहीपछि पुलिसले ट्रक जफत गरेको छ। उद्धार गरिएका गाईहरूलाई सुरक्षित राख्न ओडिशा स्थित ‘माँ भवती गोशाला’ पठाइएको छ।
यस घटनामा को-को संलग्न छन्, गाईहरू कहाँबाट ल्याइएका थिए र तिनलाई कहाँ लैजाँदै थियो भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ। यस घटनाको पछाड़ी कुनै ठूलो तस्करी गिरोहको संलग्नता छ वा छैन भन्ने विषयमा पनि पुलिसले जाँच गरिरहेको छ।
/ बिशाल