सीएपी सिक्किमको गेजिङ तथा सोरेङ जिल्लास्तरीय कार्यकारिणी परिषद्को सभा सम्पन्न
सीएपी सिक्किमको गेजिङ तथा सोरेङ जिल्लास्तरीय कार्यकारिणी परिषद्को सभा सम्पन्न


गान्तोक, 29 अक्टोबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको गेजिङ तथा सोरेङ जिल्लास्तरीय कार्यकारिणी परिषद्को सभा आज गेजिङ जिल्ला कार्यालयमा सम्पन्न भयो। पार्टीका सल्लाहकार पुण्य प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक तथा सामाजिक समस्या र आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल गरियो।

सीएपीद्वारा आज जारी प्रेस विज्ञप्तिका अनुसार, सभामा विभिन्न विधानसभा क्षेत्रमा भइरहेका पार्टीका संगठनात्मक तथा राजनीतिक गतिविधिहरूको समीक्षा गरियो। सहभागी क्षेत्रीय अध्यक्षहरूले आ-आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गर्दै संगठनको अवस्था, जनसम्पर्क, पार्टीका कार्यक्रम तथा आगामी कार्ययोजनाबारे जानकारी गराए।

सभाध्यक्ष पुण्य प्रसाद खतिवडाले आफ्नो सम्बोधनमा पार्टीलाई सिक्किमका युवाहरूको भविष्य, राज्यको समग्र विकास र समयको आवश्यकतासँग जोडिएको राजनीतिक शक्तिका रूपमा चित्रण गरे। उनले भने, “यो पार्टी सिक्किमका युवाहरूका निम्ति हो। सिक्किमको भविष्यका निम्ति हो। यो पार्टी युगको आवश्यकताका निम्ति हो।” उनले सीएपीले सिक्किमको भविष्यका सम्बन्धमा स्पष्ट सपना र दृष्टिकोण बोकेको उल्लेख गर्दै पार्टीप्रति जनताको भावनात्मक विश्वास र अपेक्षा बढ्दै गएको बताए। सिक्किमेली जनताले भावनात्मक रूपमा पार्टीलाई आफ्नो आशा र भरोसाको केन्द्र बनाइसकेको धारणा राख्दै उनले त्यसलाई वास्तविक राजनीतिक उपलब्धिमा रूपान्तरण गर्न २०२९ को विधानसभा निर्वाचनलाई महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए। उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर जनताको विश्वास कायम राख्न र सिक्किमको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर क्रियाशील रहन आह्वान गरे।सभालाई सम्बोधन गर्दै संगठन प्रभारी तथा उपाध्यक्ष किरण जिम्बाले पार्टीको संगठनात्मक संरचनालाई पूर्ण र प्रभावकारी बनाउन प्रत्येक सदस्यले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए। सिक्किमेली जनतामा विद्यमान राजनीतिक व्यवस्था परिवर्तन गरी नयाँ सरकार निर्माण गर्ने आकाङ्क्षा बढ्दै गएको उल्लेख गर्दै उनले नागरिकहरू सीएपीलाई सरकारमा देख्न र पार्टीको नेतृत्वमा आफ्नो जीवनस्तरमा सकारात्मक परिवर्तन आएको अनुभव गर्न चाहिरहेको धारणा व्यक्त गरे।

गेजिङ जिल्लाका महासचिव खगेन दाहालले ग्रामीणस्तरमा दैनिकजसो नागरिकहरू पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेको जानकारी दिए। पार्टीप्रति जनताको बढ्दो आकर्षणलाई संगठनात्मक शक्तिमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै उनले लिडर्स काउन्सिलका सदस्यहरूलाई पार्टीका गतिविधिमा निरन्तर सक्रिय रूपमा सहभागी गराउने स्पष्ट रणनीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

सोरेङ जिल्ला कार्यकारिणी परिषद्का अध्यक्ष पीडी शेर्पाले संगठनमा रहेका कमजोरी र चुनौतीहरूलाई नै सुधारको अवसर तथा शक्तिमा रूपान्तरण गर्दै अगाडि बढ्न कार्यकर्ताहरूलाई प्रेरित गरे। कमजोरीबाट निराश हुनुको सट्टा यसको पहिचान गरी समाधान खोज्नु संगठनात्मक विकासको महत्त्वपूर्ण आधार रहेको उनको भनाइ थियो।

सभालाई सम्बोधन गर्दै देन्ताम क्षेत्रका महासचिव एनबी राईले नयाँ वर्ष २०२७ मा पार्टीले अझ रणनीतिक, सशक्त र विवेकशील ढङ्गले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande