
सिलगढ़ी, 30 अक्टोबर (हि.स.)। फुलेश्वरीपछि अब सिलगढ़ीको सबैभन्दा व्यस्त महावीरस्थानका दुवै रेलवे गेटहरू स्थायी रूपमा बन्द हुने सम्भावनाले शहरको प्रमुख व्यापारिक केन्द्र महावीरस्थानका व्यापारीहरूमा चिन्ता बढाएको छ। यसैबीच शुक्रवार राज्यका पर्यटनमन्त्री शङ्कर घोषले यस क्षेत्रको भ्रमण गरी व्यापारीको समस्या सुने अनि समाधान गर्ने आश्वासन दिए। मन्त्रीले रेलवे गेट बन्द हुने सम्भावनालाई लिएर व्यापारीहरूमा व्याप्त डरबीच रेलवेका उच्च अधिकारीहरूसँग वार्ता गर्ने आश्वासन दिएका छन्।
पर्यटनमन्त्री शङ्कर घोषले भने, अण्डरपास वा रेलवे ओभरब्रिज जस्ता वैकल्पिक यातायात व्यवस्था उपलब्ध भएका क्षेत्रमा रेलवेको नीति अनुसार गेट स्थायी रूपमा बन्द गर्न सकिन्छ। तर, स्थानीय व्यापारीको माग र उनीहरूको समस्यालाई गम्भीरताको साथमा लिने उनले स्पष्ट पारे। यस समस्याको समाधानका लागि रेलवे, जिल्ला प्रशासन, सिलगढ़ी नगरनिगम तथा पुलिस आयुक्तालयका वरिष्ठ अधिकारीहरूसँग संयुक्त बैठक हुनेछ।
यस अवधि उत्तर बङ्गाल विकास विभागको आर्थिक सहयोगमा शुरु भएको सरकारी काम लामो समयदेखि रोकिँदै आएकोमा माछा व्यापारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। व्यापारीहरू अनुसार यो काम यस क्षेत्रका धेरैजना मेहनती मानिसहरूको जीविकोपार्जनसँग जोडिएको छ। यस अवसरमा नगर निगमका सम्बन्धित अधिकारीहरू पनि उपस्थित थिए।
मन्त्रीले अधुरो काम यथाशीघ्र अनि निर्धारित समयसीमाभित्रमा सम्पन्न गर्ने आश्वासन दिएका छन्। यसबाहेक मन्त्रीले शहरमा फुटपाथमा अवैध कब्जाको मुद्दा पनि उठाए। फुटपाथमा पसल राखेर पैदल यात्रीलाई बाधा पुर्याउनेलाई सहन गरिने छैन, उनले भने। सर्वसाधारणको सुरक्षित एवं सुविधाजनक आवागमन सुनिश्चित गर्न फुटपाथलाई अतिक्रमणमुक्त बनाउनु आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा