दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
Raju bist


गान्तोक, 05 अक्टोबर (हि.स.)। दार्जिलिङका लोकसभा सांसद तथा हालै भारतीय जनता पार्टीका सिक्किम प्रदेश प्रभारीका रूपमा नियुक्त राजु बिष्टले नयाँ जिम्मेवारी सम्हालेपछि सोमबार पहिलो पटक सिक्किम आए। सांसद बिष्टलाई भाजपा कार्यकर्ताहरूले रम्फूमा भव्य स्वागत गरे। रम्फूमा प्रदेश भाजपा अध्यक्ष डा डीआर थापासहित पार्टीका अन्य पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

रम्फूमा स्वागत कार्यक्रमपछि बिष्ट सिङ्तामस्थित भाजपा कार्यालय पुगेका थिए। त्यहाँ पार्टीको संगठनात्मक कार्यक्रम आयोजना गरियो। कार्यक्रममा प्रदेश प्रभारी बिष्टले पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूसँग संगठनसम्बन्धी विषयमा छलफल गरे।

बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रभारी बिष्टले आफूलाई सिक्किमको प्रदेश प्रभारीको जिम्मेवारी दिएकोमा राष्ट्रिय नेतृत्वप्रति कृतज्ञता व्यक्त गरे। उनले प्रदेश अध्यक्ष, वरिष्ठ नेता तथा प्रत्येक कार्यकर्तालाई न्यानो स्वागतका लागि धन्यवाद दिँदै निवर्तमान प्रभारी डा. दिलीप जैसवालको योगदान तथा उनले निर्माण गर्न सहयोग गरेको संगठनात्मक आधारको प्रशंसा गरे।

बिष्टले आफ्नो पहिलो प्राथमिकता सिक्किमका पार्टी कार्यकर्ताहरूको कुरा सुन्ने, धरातलीय वास्तविकता बुझ्ने र सबैसँग एक टोलीका रूपमा मिलेर काम गर्ने रहेको बताए। उनले सिक्किम भारतको एक अद्वितीय तथा महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै राज्यको समृद्ध सांस्कृतिक सम्पदा, विविध जनसंख्या, संवेदनशील पारिस्थितिकी तथा अपार सम्भावनातर्फ ध्यानाकर्षण गराए।

बिष्टले भारतीय संविधानको धारा ३७१एफ स्थायी संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै भाजपाले यसको अक्षरशः र भावनाअनुसार सधैँ सम्मान तथा संरक्षण गर्ने स्पष्ट पारे। उनले सिक्किम र दार्जिलिङको साझा इतिहास भए पनि दुवैको वर्तमान र भविष्य फरक रहेको बताए। दुवै क्षेत्र एकअर्कासँग उभिने र एकअर्काको सहारा बन्ने भए पनि एकअर्काको राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने उनले स्पष्ट पारे।

भाजपा संगठनलाई बलियो बनाउनु पार्टी कार्यकर्ताका लागि मात्र नभई सिक्किमलाई बलियो बनाउन तथा जनताको हितको रक्षा गर्न पनि महत्वपूर्ण रहेको बिष्टले बताए। उनले तत्कालको संगठनात्मक प्राथमिकता बुथ तहदेखि माथिसम्म भाजपालाई सुदृढ बनाउनु रहेको बताए। यसका साथै ‘सेवा सेतु’ अभियानमार्फत जनतासँगको सम्पर्कलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। संवादलाई थप विस्तार गर्दै सेवा सेतुमार्फत निरन्तर जनसम्पर्क कायम राख्नुपर्ने उनले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande