
- गम्भीर रूपमा घाइते सात जनालाई थप उपचारका लागि जोरहाट मेडिकल कलेज पठाइयो
- ट्राभलरमा सवार थिए ३५ जना, ट्रक चालक पुलिस हिरासतमा
काजिरङ्गा (असम), १३ नोभेम्बर (हि.स.)। असमको काजिरङ्गा स्थित रङ्गाजानमा ट्रक र यात्रुवाहक ट्राभलरबीच भएकाे ठक्करमा मृत्यु हुनेको संख्या बढ़ेर २३ पुगेको छ। कोहरा स्थित अस्पतालका मेडिकल अफिसरले यसको पुष्टि गरेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई थप उपचारका लागि जोरहाट मेडिकल कलेज तथा अस्पताल पठाइएको छ।
दुर्घटनाग्रस्त ट्राभलरका चालक माजिद र सहचालक सुभाषको पनि मृत्यु भएको बताइएको छ। दुवै जना नगाउँ जिल्लाको केचुआलीका निवासी थिए। ट्राभलरमा कूल ३५ जना सवार थिए। दुर्घटनामा घाइते भएका ट्रक चालकलाई पुलिसले हिरासतमा लिएको छ। उसको हातमा चोट लागेको छ।
दुर्घटनामा मृत्यु भएका मध्ये आठ जनाको शव बोकाखात अस्पतालमा राखिएको छ भने बाँकी शव कोहरा अस्पतालमा राखिएको छ।
दुर्घटनाको भयावहतालाई हेर्दा मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। घटनापछि सम्पूर्ण क्षेत्रमा शोकको माहोल छ। प्रशासन तथा सम्बन्धित निकायहरू राहत र उद्धार कार्यमा जुटेका छन्।
घटनाको जानकारी पाएलगत्तै असम सरकारका मन्त्री अतुल बोरा र वरिष्ठ पुलिस अधिकारीहरू घटनास्थल पुगेर स्थितिको जायजा लिएका छन्। सञ्चारमाध्यमसँग कुरा गर्दै मन्त्री बोराले दुर्घटनाप्रति शोक व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
/ बिशाल