
-असम राज्य चालक सङ्घले 6 वटा प्रमुख मागहरू उठाएको छ
गुवाहाटी, 17 नोभेम्बर (हि.स.)। असम राज्य चालक सङ्घले सड़क सुरक्षाको नाममा चालक अनि सवारी मालिकहरूविरुद्ध मात्र दण्डात्मक कारबाही गर्नको सट्टा सम्पूर्ण यातायात प्रणालीको जवाफदेहिता सुनिश्चित गर्न राज्य सरकारलाई माग गरेको छ। काजीरङ्गाको रङ्गाजानमा भएको भयानक सड़क दुर्घटनामा 26 जना मानिसहरूको ज्यान गएको घातक सड़क दुर्घटनापछि सरकारले घोषणा गरेको नयाँ मानक सञ्चालन प्रक्रिया (एसओपी) र 12 सूत्री कार्य योजनामाथि संस्थाले आफ्नो प्रतिक्रिया व्यक्त गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै संस्थाले दुर्घटनामा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गऱ्यो। संस्थाले भन्यो, सड़क सुरक्षा सरकार, प्रशासन, यातायात विभाग, सवारी मालिक अनि चालकको सामूहिक जिम्मेवारी हो। खराब सड़क, पर्याप्त सङ्केतको अभाव र यातायात विभागमा भएको कथित भ्रष्टाचारको लागि पनि जवाफदेही तय हुनुपर्छ।
पारदर्शी यातायात प्रणाली, इन्धन र परिचालन लागत अनुरूप उचित भाड़ा, अनलाइन एग्रीगेटर कम्पनीहरूको मनमानीमाथि नियन्त्रण, तथा चालकहरूका लागि स्वास्थ्य एवं जीवन बिमा लगायत छ वटा प्रमुख मागहरू संस्थाले राखेको छ। संस्थाले नयाँ एसओपी लागू गर्नअघि चालक र सवारी मालिकका प्रतिनिधिहरूसँग परामर्श गर्न पनि आग्रह गरेको छ।
संस्थाले स्पष्ट पार्यो, यो सडक सुरक्षा नियमविरुद्ध होइन, अन्यायपूर्ण प्रणाली र भ्रष्टाचारविरुद्ध हो। जीविकोपार्जन, आर्थिक सुरक्षा एवं चालकहरूको अधिकारको रक्षा गर्दै यातायात क्षेत्रका आधारभूत समस्याहरूको स्थायी समाधान गर्नको लागि कदम चाल्ने अपील संस्थाले सरकारसित गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा