सिक्किमविरुद्ध अश्लील तथा अपमानजनक टिप्पणी गरेको आरोपमा भाजपा महिला मोर्चाद्वारा पुलिसमा उजुरी
सिक्किमविरुद्ध अश्लील तथा अपमानजनक टिप्पणी गरेको आरोपमा भाजपा महिला मोर्चाद्वारा पुलिसमा उजुरी


गान्तोक, १७ नोभेम्बर (हि.स.)। सिक्किम र गान्तोकको पहिचानलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा कथित रूपमा अश्लील, यौन सङ्केतयुक्त तथा अपमानजनक टिप्पणी गरिएको भन्दै भाजपा सिक्किम महिला मोर्चाले मेघालयका अरहुन्की लालुविरुद्ध पुलिसमा औपचारिक उजुरी दर्ता गराएको छ।

महिला मोर्चाकी अध्यक्ष सृजना छेत्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गान्तोकस्थित सदर थाना प्रभारीसमक्ष उजुरी बुझाउँदै आरोपी व्यक्तिविरुद्ध प्राथमिकी दर्ता गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ।

सिक्किम राइडर्स मिट तथा नर्थ इस्ट राइडर्स मिट २०२६ सँग सम्बन्धित भनिएको उक्त फेसबुक पोस्टमा गान्तोक र सिक्किमलाई लक्षित गरी आपत्तिजनक तथा यौन सङ्केत झल्किने शब्दहरूको प्रयोग गरिएको आरोप महिला मोर्चाले लगाएको छ।

महिला मोर्चाले उक्त टिप्पणीलाई सिक्किमका जनताको गरिमा, संस्कृति तथा पहिचानप्रतिको गम्भीर अपमानका रूपमा व्याख्या गरेको छ। साथै पुलिसले घटनाको निष्पक्ष छानबिन गरी उक्त पोस्टको वास्तविकता तथा प्रामाणिकता पुष्टि गर्न र प्रचलित कानुनका सम्बन्धित प्रावधानअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

महिला मोर्चाले सिक्किमले सधैँ आगन्तुकहरूलाई न्यानोपन र आतिथ्यका साथ स्वागत गर्दै आएको उल्लेख गर्दै यहाँको आतिथ्यलाई कमजोरीका रूपमा बुझ्न नहुने स्पष्ट पारेको छ। सिक्किम र यहाँका जनताको गरिमा तथा आत्मसम्मानको सम्मान गरिनुपर्ने र यसमा कुनै सम्झौता हुन नसक्ने मोर्चाले दोहोर्‍याएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande