
गान्तोक, 17 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले युवा तथा महिलाका लागि थप अवसर सिर्जना गर्दै विकसित सिक्किम निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्। मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत सिक्किम इन्स्पायर्स कार्यक्रमको मध्यावधि समीक्षा बैठकलाई सम्बोधन गरेको जानकारी दिँदै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले सिक्किम इन्स्पायर्स कार्यक्रमलाई केवल एउटा सरकारी योजना मात्र नभई शिक्षा, सीप, रोजगार तथा उद्यमशीलतालाई एकअर्कासँग जोड्ने महत्त्वपूर्ण पहलका रूपमा व्याख्या गरेका छन्। यसले विकासका लागि सरकारका विभिन्न विभाग तथा निकायबीच समन्वयात्मक कार्यप्रणालीलाई समेत सुदृढ बनाउने उनले बताएका छन्।
सरकारको ध्यान केवल तालिम प्रदान गर्ने र अवसर सिर्जना गर्नेमा मात्र सीमित नरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले यस्ता पहललाई दिगो रोजगारी, उच्च आय तथा जनताको जीवनस्तरमा सुधारसँग जोड्नु मुख्य प्राथमिकता रहेको बताएका छन्। यसका साथै उद्यमशीलता, स्वयं सहायता समूह (एसएचजी) तथा विभिन्न जीविकोपार्जनसम्बन्धी पहलमार्फत महिलाहरूलाई प्रदान गरिने सहयोगलाई पनि थप सुदृढ बनाइँदै लगिएको उनले उल्लेख गरेका छन्।
कार्यक्रमका बाँकी लक्ष्यहरू हासिल गर्न सम्बन्धित टोलीहरू प्रतिबद्धताका साथ कार्यरत रहेकोमा उनले सन्तोष व्यक्त गरेका छन्। यस कार्यक्रमले सिक्किमको दीर्घकालीन विकासको मार्गचित्र ‘सिक्किम भिजन २०४७’ तयार पार्नसमेत योगदान पुर्याइरहेको उनले बताएका छन्।
मुख्यमन्त्रीले विश्व ब्याङ्क, स्वतन्त्र प्रमाणीकरण निकाय, सरकारी अधिकारीहरू, कार्यान्वयन गर्ने विभागहरू तथा सिक्किम इन्स्पायर्सको सम्पूर्ण टोलीप्रति निरन्तरको सहकार्य, समर्पण र योगदानका लागि आभार व्यक्त गरेका छन्।
सरकारी कार्यक्रमहरूको सफलता कागजमा मात्र सीमित नरही जनताको वास्तविक जीवनमा देखिन र महसुस हुनुपर्नेमा जोड दिँदै उनले ‘टीम सिक्किम’ का रूपमा एकजुट भएर काम गर्न सबैलाई आह्वान गरेका छन्। सामूहिक प्रयासबाट अझ सशक्त, समृद्ध र विकसित सिक्किम निर्माण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल