
कोलकाता, ०2 नोभेम्बर (हि.स.) पश्चिम बङ्गाल विधानसभा परिसरमा सोमवार बिहान त्यसबेला कोकोहोलो मच्चियो जतिबेला क्यान्टिन विभागको शौचालयबाट एकजना कर्मचारीको शव फेला पऱ्यो। मृतकको पहिचान उमेश चन्द्र दासको रूपमा भएको छ जो विगत 15 वर्षदेखि विधानसभा क्यान्टिनमा ठेकेदार एजेन्सी अन्तर्गत अस्थायी कर्मचारीका रूपमा कार्यरत थिए। घटनाको जानकारी पाए लगत्तै हेस्टिङ्गस तथा हेयर स्ट्रिट थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जा गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो। घटनाको सम्बन्धमा मुद्दा दर्ता गरिएको छ भने विधानसभा अध्यक्ष रथिन्द्रनाथ बसुलाई पनि सम्पूर्ण घटनाक्रमबारे जानकारी गराइएको छ।
पुलिस सूत्र अनुसार सोमवार (नोभेम्बर 2) बिहान 9ः10 बजे उमेश चन्द्र दासलाई क्यान्टिनको शौचालयभित्र अचेत अवस्थामा फेला भेटियो। उनलाई तत्कालै अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए। उमेश मूल रूपमा कोलकाताको तिलजाला क्षेत्रका निवासी थिए, तर कामको लागि तिनी विधानसभा क्यान्टिनमै बस्दै आएका थिए। सोमवार बिहान उनी सधैँ जस्तै उठेर शौचालय गए। लामो समयसम्म उनी बाहिर नआएपछि सहकर्मीहरूले उनलाई बोलाए। कुनै प्रतिक्रिया नआएपछि ढोका भत्काइय, जहाँ उमेश भुइँमा बेहोस अवस्थामा फेला परे।
उमेशको मृत्यु कसरी भयो, अहिलेसम्म रहस्य नै बनेको छ। प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा कुनै चोटको निशान नभेटिएको र अहिलेसम्म कुनै षड्यन्त्र वा अप्राकृतिक घटनाको कुनै सङ्केत नभएको पुलिसले जनाएको छ। यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक उजुरी दर्ता गरिएको छैन। अनुसन्धानकर्ताहरूले मृत्युको सही कारण पत्तो लगाउन पोस्टमर्टम रिपोर्टको प्रतिक्षा गरिरहेका छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कोलकाता पुलिसको डीडी होमिसाइड शाखाको टोली पनि घटनास्थलमा पुगेको छ। हाल पुलिसले घटनास्थल र वरपरको क्षेत्रलाई सुरक्षित राखेर घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा