
मुजफ्फरपुर, ०२ नोभेम्बर (हि.स.)। बिहारको मुजफ्फरपुर शहरको सदर थाना क्षेत्र अन्तर्गत गोबरसही-डुमरी क्षेत्रमा सोमवार नाला निर्माणका क्रममा जेसीबीले खन्ने क्रममा जमीनमुनि बिछ्याइएको पीएनजी ग्यासको पाइपलाइन क्षतिग्रस्त भएको छ। त्यसपछि ग्यास चुहिएर शक्तिशाली विस्फोट भयो। दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने १० जनाभन्दा बढ़ी घाइते भएका छन् र आगोले जलेका छन्।
स्थानीय बासिन्दा अनुसार, उक्त क्षेत्रमा नाला निर्माणको काम भइरहेको थियो। यसै क्रममा जेसीबीले खन्ने बेला जमीनमुनि बिछ्याइएको पीएनजी ग्यासको पाइपलाइन फुट्यो। पाइपलाइनबाट ग्यास चुहिएपछि अचानक शक्तिशाली विस्फोट भयो। विस्फोटको चपेटामा परेर एक जनाको घटनास्थलमै मृत्यु भयो भने अन्य धेरै जना आगोले जलेर घाइते भए।
विस्फोटको तीव्रता यति धेरै थियो कि वरपरका कैयौँ घर र पर्खालमा समेत क्षति पुगेको छ। घटनाको सूचना प्राप्त हुनासाथ पुलिस र अग्निशमन विभागका टोली घटनास्थलमा पुगे। अग्निशमनकर्मीहरूले आगो नियन्त्रणमा लिनुका साथै राहत तथा उद्धार कार्य शुरु गरे। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइँदै छ।
घटनास्थलमा पूर्वी क्षेत्रका एसडीएम आनन्द उत्सव, टाउन–२ का सीडीपीओ दीपक कुमार र जिल्ला अग्निशमन अधिकारी प्रज्ञा शरण सहित कैयौँ अधिकारी पुगे। अहिलेसम्म एक शव र एक घाइतेलाई मुजफ्फरपुर स्थित श्रीकृष्ण मेडिकल कलेज तथा अस्पताल (एसकेएमसीएच) पठाइएको जानकारी प्राप्त भएको छ। घटनास्थलमा प्रशासनको तर्फबाट राहत तथा उद्धार कार्य जारी छ।
घटनाप्रति केन्द्रिय जलशक्ति राज्यमन्त्री एवं मुजफ्फरपुरका सांसद डा. राजभूषण चौधरी निषादले गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन्। उनले दुर्घटनाबाट प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै यसलाई अत्यन्त दुःखद घटना बताएका छन्।
केन्द्रिय मन्त्रीले जिल्ला प्रशासन र सम्बन्धित निकायहरूलाई तत्काल राहत तथा उद्धार कार्य तीव्र बनाउन निर्देश दिएका छन्। उनले घाइतेहरूलाई राम्रो उपचार सुविधा उपलब्ध गराउन र प्रभावित परिवारहरूलाई आवश्यक सहायता प्रदान गर्न कुनै प्रकारको पनि ढिलाइ हुन नहुने बताए।
सांसदले घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा समेत जोड दिएका छन्। उनले छानबिनका क्रममा सुरक्षा मापदण्डको बेवास्ता गरिएको वा कुनै तहमा लापरबाही भएको पाइएमा सम्बन्धित दोषीहरू विरुद्ध कड़ा कारबाही गरिनुपर्ने बताए। उनले यस कठिन समयमा प्रशासन र सम्बन्धित निकायहरूको प्राथमिकता प्रभावित व्यक्तिहरूलाई हरसम्भव सहायता, सुरक्षा र राम्रो उपचार उपलब्ध गराउनु हुनुपर्ने बताए।
हिन्दुस्थान समाचार / भवानी थामी