
चण्डीगढ, ०२ नोभेम्बर (हि.स.)। पञ्जाबमा २०२७ को विधानसभा निर्वाचनअघि आम आदमी पार्टी (आप) लाई अर्को ठूलो झट्का लागेको छ। अमृतसर उत्तर निर्वाचन क्षेत्रका विधायक कुंवर विजय प्रताप सिंहले पञ्जाब विधानसभाको सदस्यताबाट तत्काल लागू हुने गरी राजीनामा दिएका छन्। पूर्व भारतीय पुलिस सेवा (आईपीएस) अधिकारीले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै आफ्नो निर्वाचन क्षेत्रका जनतालाई सम्बोधन गरेका छन्। उनले विधायकका रूपमा आफूले निर्धारण गरेका लक्ष्यहरूमध्ये ९० प्रतिशत पूरा गरेको दाबी गरेका छन्।
कुंवर विजय प्रताप सिंहले राजनीतिमा रहेको ‘माई-बाप संस्कृति’ अन्त्य गर्नु आफ्नो सबैभन्दा ठूलो उपलब्धि रहेको बताएका छन्। जनतालाई आफ्नो प्रेरणाको स्रोत मानेर आफूले काम गरेको उनको भनाइ छ। पञ्जाबको भविष्यका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै उनले राज्य अहिले लागुऔषध, फिरौती, गुण्डागर्दी र भ्रष्टाचारजस्ता समस्यासँग जुधिरहेको बताए। पञ्जाबलाई पुनः प्रगतिशील पहिचान दिलाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे।
उनले पञ्जाब विधानसभामा अमृतसरसँग सम्बन्धित विभिन्न मुद्दाहरू निरन्तर उठाउँदै आएको बताए। तीमध्ये खानेपानी आपूर्ति, ढल निकास व्यवस्था, सर्किट हाउस, कम्पनी बाग, दूषित नाला, गुरु नानक देव विश्वविद्यालय, सरकारी मेडिकल कलेज, सरूप रानी कलेज तथा बरगाडी बेअदबी काण्डलगायतका विषय रहेका छन्।
पूर्व आईपीएस अधिकारीले विधानसभामा पहिलोपटक आफूले गल्ली तथा टोलहरूको नाम उल्लेख गर्दै सम्बन्धित क्षेत्रका समस्यालाई प्रमुखताका साथ उठाएको दाबी गरे। आगामी दिनमा आफ्नो राजनीतिक गतिविधिको मुख्य उद्देश्य स्वच्छ राजनीति र पारदर्शी प्रशासन रहने उनले बताए। ‘पञ्जाब फर्स्ट’ नै आफ्नो एकमात्र लक्ष्य रहेको र यसबाहेक कुनै व्यक्तिगत स्वार्थ नरहेको उनको भनाइ छ।
कुंवर विजय प्रताप सिंहले आफ्नो राजीनामा पञ्जाब विधानसभा अध्यक्षसमक्ष बुझाएका छन्। २४ घण्टाभन्दा कम समयभित्र राजीनामा दिने उनी आम आदमी पार्टीका तेस्रो विधायक हुन्। यसअघि एक दिनअगाडि समाना क्षेत्रका विधायक चेतन सिंह जौडामाजरा र सनौर क्षेत्रका विधायक हरमीत सिंह पठानमाजराले पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिएका थिए। यी तीनै जना नेता सोमबार भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ।
आम आदमी पार्टीले १ नोभेम्बरमा २०२७ को विधानसभा निर्वाचनका लागि उम्मेदवारहरूको पहिलो सूची सार्वजनिक गरेपछि यो घटनाक्रम बाहिर आएको हो। पार्टीले हालै चेतन सिंह जौडामाजरा र हरमीत सिंह पठानमाजराका निर्वाचन क्षेत्रमा हल्का इन्चार्जसमेत नियुक्त गरेको थियो। त्यसपछि दुवै विधायकले आगामी निर्वाचनमा पुनः टिकट नपाउने अड्कलबाजी तीव्र बनेको थियो।
आप नेतृत्वले यसअघि पनि भाजपाले अन्य दलका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएर पञ्जाबमा राजनीतिक पकड बलियो बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै आएको छ। राज्यमा भाजपाको राजनीतिक आधार सीमित रहेको आपले बताउँदै आएको छ।
पूर्व आईपीएस अधिकारी कुंवर विजय प्रताप सिंहले पुलिस सेवाबाट राजीनामा दिएपछि आम आदमी पार्टीमा प्रवेश गरेका थिए। उनी २०१५ मा फरीदकोटमा भएका बेअदबीका घटना तथा त्यसपछि पञ्जाबमा भएको प्रहरी गोलीकाण्डको अनुसन्धानमा संलग्न थिए। उनले २०२२ को विधानसभा निर्वाचनमा आम आदमी पार्टीको टिकटमा अमृतसर उत्तर क्षेत्रबाट विजय हासिल गरेका थिए।
यद्यपि, पछि पार्टी नेतृत्वसँग उनको सम्बन्ध बिग्रँदै गएको थियो। २०२३ को जनवरीमा उनले विधानसभा सरकारी आश्वासन समितिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसपछि पनि उनले मुख्यमन्त्री भगवन्त मान तथा सरकारको कार्यशैलीमाथि पटकपटक प्रश्न उठाउँदै आएका थिए। पार्टीको कार्यप्रणाली र बेअदबीका घटनालाई सम्बोधन गर्ने तरिकाप्रति पनि उनले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए। २०२५ को जुन महिनामा आम आदमी पार्टीले पार्टीविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पाँच वर्षका लागि निलम्बन गरेको थियो।
/ बिशाल