पूर्वोत्तर सेतु कार्यक्रमअन्तर्गत मङ्गन जिल्लामा केन्द्र सरकारका योजनाहरूको कार्यान्वयनबारे समीक्षा बैठक
पूर्वोत्तर सेतु कार्यक्रमअन्तर्गत मङ्गन जिल्लामा केन्द्र सरकारका योजनाहरूको कार्यान्वयनबारे समीक्षा बैठक


जैविक माछापालन प्रवर्द्धनका लागि तयार पारिएको एसओपी सार्वजनिक

मङ्गन, 0२ नोभेम्बर (हि.स.)। भारत सरकारका मत्स्यपालन, पशुपालन तथा दुग्ध उत्पादन र पञ्चायती मन्त्री राजीव रञ्जन सिंहले सोमबार मङ्गनस्थित जिल्ला प्रशासनिक केन्द्रमा केन्द्र सरकारको पूर्वोत्तर सेतु कार्यक्रमअन्तर्गत मङ्गन जिल्लामा सञ्चालित विभिन्न केन्द्रिय योजनाहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरे।

जिल्लाका विभिन्न स्थानहरूको भ्रमणपछि समीक्षा बैठकमा सहभागी भएका केन्द्रिय मन्त्री सिंहले केन्द्र सरकारका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा लक्षित लाभार्थीहरूसम्म योजनाको लाभ पुर्‍याउन सम्बन्धित विभागहरूबीच समन्वय आवश्यक रहेकोमा जोड दिए। उनले सोरेङ जिल्लालाई मत्स्यपालनका लागि जैविक समूहका रूपमा पहिचान गरिएको जानकारी दिँदै यस क्षेत्रमा दिगो अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताए।

बैठकअघि मन्त्री सिंहले माछा, सजावटी माछा, मत्स्यजन्य उत्पादन, दुग्ध तथा पशुपालनजन्य सामग्री र स्थानीय स्तरमा उत्पादित जैविक तरकारीका प्रदर्शनी स्टलहरूको निरीक्षण गरे। कार्यक्रममा तीन जना माछापालक किसानलाई किसान क्रेडिट कार्ड (केसीसी) वितरण गरियो भने मुख्यमन्त्री मत्स्य उत्पादन योजनाअन्तर्गत पाँच जना लाभार्थीलाई आर्थिक सहायता चेक प्रदान गरियो।

बैठकमा मङ्गनका एसडीएम सन्दीप कुमारले जिल्लाको समग्र परिचय, विकास गतिविधि तथा जीवन्त गाउँ कार्यक्रमको प्रगतिबारे प्रस्तुति दिए। यसैगरी, राज्यको पशुपालन तथा पशु चिकित्सा सेवासम्बन्धी गतिविधि र मत्स्यपालन क्षेत्रमा सञ्चालन भइरहेका योजना तथा पहलहरूबारे सम्बन्धित विभागका सचिवहरूले जानकारी गराए। सिक्किममा प्रधानमन्त्री मत्स्य सम्पदा योजनाको कार्यान्वयनसम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरियो।

यस अवसरमा स्वास्थ्य, शिक्षा, सडक तथा पुल, सीमा सडक सङ्गठन (बीआरओ) र महिला तथा बाल विकास विभागले मङ्गन जिल्लामा सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा जारी विकास योजनाहरूबारे पनि प्रस्तुति दिएका थिए।

कार्यक्रमका क्रममा दुग्ध क्षेत्रको विकासलाई लक्षित गर्दै मङ्गनमा श्वेत क्रान्ति-२ अन्तर्गत नर्थ डेरी मिल्क युनियनको डिजिटल माध्यमबाट शुभारम्भ गरियो। यसका साथै सिक्किमको मौलिक सिरि गाईको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सिरि गाई संरक्षण कार्यक्रम पनि शुरु गरियो। पाकिम जिल्लाको छुजाचेनमा सिरि प्रजातिको गोरू प्रजनन तथा संरक्षण केन्द्रको शिलान्यास समारोह भर्चुअल माध्यमबाट सम्पन्न भयो।

यसैगरी, सिक्किममा जैविक माछापालन प्रवर्द्धनका लागि तयार पारिएको मानक सञ्चालन कार्यविधि (एसओपी) सार्वजनिक गरियो। प्रधानमन्त्री मत्स्य सम्पदा योजनाको सहयोगमा पाकिम, गेजिङ, सोरेङ र मङ्गन जिल्लामा सञ्चालन हुने लाभार्थीकेन्द्रित १२ वटा परियोजनाको पनि भर्चुअल उद्घाटन गरियो।

बैठकपछि केन्द्रिय मन्त्री र स्थानीय किसानहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा किसानहरूले कृषि तथा यससँग सम्बन्धित क्षेत्रका आफ्ना अनुभव, समस्या र चुनौतीहरू प्रस्तुत गर्दै विभिन्न विषयमा छलफल गरे।

कार्यक्रममा मत्स्यपालन, कृषि, बागवानी तथा पशुपालन एवं पशु चिकित्सा सेवा विभागका मन्त्री पुरणकुमार गुरुङ, सामाजिक कल्याण, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागका मन्त्री साम्डुप लेप्चा, विधायक टीटी भोटियाको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande