
मङ्गन, 02 नोभेम्बर (हि.स.)।केन्द्रिय पञ्चायती राज, मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास मन्त्री राजीव रञ्जन सिंहले आज उत्तर सिक्किमको मङ्गन जिल्लास्थित माङशिलाको थेगिम मार्टमा प्रधानमन्त्री मत्स्य सम्पदा योजना (पीएमएमएसवाई) अन्तर्गत सञ्चालित जीवित माछा बिक्री केन्द्रको भ्रमण गरे।
भ्रमणका क्रममा मन्त्री सिंहले प्रत्येक घरपरिवारलाई सजावटी माछाको बिक्री व्यवसाय अपनाउन आग्रह गर्दै सिक्किम सरकारको मत्स्यपालन विभागलाई केन्द्र सरकारबाट हरसम्भव सहयोग उपलब्ध गराउने आश्वासन दिए। उनले दुईवटा सहकारी संस्थासँग आबद्ध १५ जना माछापालक किसानलाई माछाको दाना वितरण गर्दै मत्स्यपालन गतिविधिलाई प्रोत्साहन गरे।
यसैगरी, मन्त्री सिंहले मङ्गन जिल्लाको रामथाङस्थित आयुष्मान भारत स्वास्थ्य तथा आरोग्य केन्द्रको पनि भ्रमण गरे। भ्रमणका क्रममा जिल्लाकी प्रमुख चिकित्सा अधिकारी डा. अनिता भोटियाले मन्त्रीसँग अन्तरक्रिया गर्दै जिल्लाको स्वास्थ्य सेवाको अवस्था, उपलब्ध स्वास्थ्य सुविधा तथा सेवा प्रवाहबारे जानकारी गराइन्।
उनले सिक्किमको सिरि गाईको प्रजातिसँग सम्बन्धित महत्त्वपूर्ण पक्षहरूबारे समेत मन्त्रीलाई अवगत गराइन्।
उल्लेखनीय छ, केन्द्रिय मन्त्री राजीव रञ्जन सिंह आधिकारिक भ्रमणमा हिजो सिक्किम आइपुगेका हुन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल