
गान्तोक, ०२ नोभेम्बर (हि.स.)। वरिष्ठ पत्रकार विजय वान्तवा र नेपाली कथाकार शमशेर अलीको निधनप्रति सिक्किम अकादेमीले गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।
सिक्किम अकादेमीका सचिव (भाषा तथा साहित्य) प्रद्युम्न श्रेष्ठद्वारा सोमबार जारी शोक विज्ञप्तिमा दुवै स्रष्टाले भारतीय नेपाली पत्रकारिता तथा साहित्यमा पुर्याएको योगदानको स्मरण गरिएको छ।
सन् १९८५ देखि पत्रकारितामा सक्रिय विजय वान्तवाले लामो समयसम्म ‘हिमगिरी’ साप्ताहिक समाचारपत्रको सम्पादन गरेका थिए। त्यसपछि उनले अङ्ग्रेजी भाषाको खबरप्रधान पत्रिका ‘स्नोलाइन’ को सम्पादनसमेत गरेका थिए। उनका प्रकाशित कृतिहरूमा ‘पत्रकारिताका पक्षहरू’ तथा एउटा कविता सङ्ग्रह रहेका छन्। अङ्ग्रेजी भाषामा समेत राम्रो दखल राख्ने वान्तवाले प्रेस क्लब अफ सिक्किमद्वारा प्रदान गरिने प्रतिष्ठित ‘कञ्चनजङ्घा कलम पुरस्कार’ सन् २०११ मा प्राप्त गरेका थिए।
त्यसैगरी, लामो समयदेखि नेपाली कथालेखनमा सक्रिय शमशेर अलीका प्रकाशित कथाकृतिहरूमा ‘बिउभाले’ (२०१०), ‘सोल्दाती गोर्खा मोल्तो ब्योनी’, ‘हुट्टिट्याउँ’, ‘आफ्रीन’, ‘मामा’ र ‘अब्बुई’ लगायत रहेका छन्। उनको अन्तिम कथासङ्ग्रह ‘द लास्ट डान्स’ रहेको अकादेमीले जनाएको छ।
भारतीय नेपाली साहित्य र पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याएका दुवै स्रष्टाको निधनले साहित्यिक तथा पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै अकादेमीले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल